काठमाडौं । वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने भएको छ । त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागले जनाएकाे छ ।
दशैंको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि १ जना उपसचिवसहित ७ जना कर्मचारीलाई राखिएको छ । दशैं बिदामा श्रम स्वीकृति जारी गर्नैपर्नेको हकमा ती कर्मचारीले श्रम स्वीकृति दिनेछन् ।
वैदेशिक रोजगारीका लागि भिसा आइसकेर टिकट समेत काटिसकेकाहरूलाई दशैं बिदामा समेत श्रम स्वीकृति जारी गर्नुपर्ने अवस्था आउने गरेका छन् । उनीहरूलाई श्रम स्वीकृतिमा समस्या नहोस् भनेर कर्मचारी व्यवस्थापन गरिएको विभागले जनाएकाे हाे ।
श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ । सोही अनुसार आवश्यक कागजातसहित पेश गरिएको आवेदनको हकमा श्रम स्वीकृति जारी हुने गरेको छ । चाहिने कागजात पेश नगरिएको खण्डमा आवेदन अस्वीकृत हुन्छ भने के कारणले अस्वीकृत भएको हो त्यसको जानकारी समेत दिने गरिएको छ ।



