एजेन्सी । नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा १ खेल अगावै विजयी भएको छ ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै यो शृङ्खलाको उपाधि जितेको हो ।
पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । गएरातिको खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो ।
वेस्ट इन्डिज १७.१ ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए । यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगोले १६ रन जोडे ।
नेपालको लागि आदिल आलमले ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७३ रनको योगफल बनाएको थियो ।
नेपालका लागि आसिफले ४७ बलमा ८ चौका र २ छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा ५ छक्का र ३ चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान २-२ विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।


