गाेरखा दरर्बारबाट हनुमान ढाेकाकाेलागि फुलपाती लगिदै
गाेरखा । आश्विन शुक्ल सप्तमीका दिनमा अर्थात फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
फूलपाती ९ वटा देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।
केरामा ब्रम्हयणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको भट्टराईले बताउनुभएको छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि समितिले जनाएकाे छ ।
हनुमानढोका दरबारकाे दशैंघरमा गोरखा जिल्लाबाट पठाइएको फूलपाती भित्र्याउने परम्परा छ ।
बिगतमा गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडाैंबाट गएका ६ जना ब्राह्मणले ल्याउने परम्परा रहेकाे भएता पनि २०४६ साल यता सवारी साधनबाट नै गाेरखाबाट हनुमान ढाेकाकाेलागि फुलपाती पठाउने गरीएकाे गाेरखा दरर्बार हेरचाह अडाका प्रमुख बिण्णु प्रसाद पाठकले बताए ।
गाेरखाबाट जमल पुगेकाे फुलपातीलाई हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती लगिने गरिन्छ ।
यस वर्षको फूलपाती आज ४:३० बजे भित्र्याइने कार्यक्रम छ । गाेरखा दरर्बारमा र हनुमान ढाेकामा एकै पटक फुलपाती भित्र्याइने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु भएको नेपालीहरुको महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।



