गोरखा । गोरखाको सबै पम्पहरुमा पेट्रोलियम पदार्थ सकिएको छ । पम्पमा तेल सकिए लगत्तै सर्व साधारणमा हाहाकारको अवस्था र्सिजना भएको छ ।
जिल्लामा रहेको ३ वटा पम्पमा हिजो र आज बिहानैदेखी सवारी साधनको लाईन लागेर तेल भर्दा सबै तेल सकिएको हो ।
गोरखा सदरमुकामको कलश आयल स्टोरमा रहेको ६ हजार लिटरको पेट्रोल र ४० हजार लिटर क्षमताको डिजल सकिएको सञ्चालक शित्तलकाजी मास्केले जानकारी दिए । उनका अनुसार मुग्लिन–चितवनको सडक खण्डको तुईन खोलामा पहिरो खस्दा आयात गर्न समस्या भएको पनि उनले बताए ।
‘हामीले पोखराबाट तेल ल्याउने कोशिस गरिरहेका छौ’ उनले भने ‘पोखराबाट तेल ल्याउदा घाटा पर्ने भएकोले चाढपर्वको बेला बजारमा अभाव नहोस भनेर मात्र ल्याउन लागिएको हो ।’
उनका अनुसार पोखराबाट आयात गरिएको तेल बिक्री गर्दा आफुले घाटा लाग्ने गर्दछ । त्यसकारण पनि बाटो सहज नहुदासम्म पर्याप्त तेल आयातमा समस्या हुने गर्दछ ।
उनले नै सञ्चालन गरेको गोरखा नगरपालिका–१२ को दश किलो भन्ने स्थानमा रहेको मनास्लु ट्रेड एण्ड इन्टरप्राईजेजमा रहेको ३० हजार लिटर डिजल र ८ हजार लिटर पेट्रोल समेत बिक्री भई सकेकोले सबै ट्याकी खाली भएको छ ।
उता गोरखा नगरपालिका–११ को तेह्र किलो बजार क्षेत्रमा रहेको गोरखकाली फ्युल सेन्टरमा पनि तेल सकिएको छ । केही बेर अगाडीसम्म रहेको पेट्रोल सकिएको सञ्चालक मध्यका रामहरी खत्रीले जानकारी बताए ।
‘आज बिहानसम्म ४ हजार लिटर पेट्रोल केही डिजल थियो, भर्खर सकियो’ उनले भने ‘बजारमा अभाव हुन नदिन तत्कालकोलागि पोखराबाट तेल ल्याउने ब्यवस्था मिलाएको र साँझसम्म तेल आउने छ ।’
उनको पम्पमा ३० हजार लिटर डिजल र ८ हजार लिटर पेट्रोल स्टक रहेकोमा सबै सकिएको जानकारी खत्रीले दिए । उनको २ वटा पेट्रोल ट्याकर तुईनखोला पहिरोका कारण मुखैमा रोकिएको छ ।
चाढपर्व नकिदै गर्दा बाहिरबाट जिल्लामा आएका सवारी साधन र जिल्ला भित्रै रहेको सवारी साधनले समेत तेल अभाव हुने भन्दै फुल ट्याकी तेल भर्दा चाढो सकिएको हो ।
बजारमा तेल अभाव भएसंगै प्रमुख जिल्ला अधिकारी रामुराज कड्रियारले जिल्लामा तेल आयातकालागि पोखरामा समन्वय गरिरहेको बताए ।
‘मैले चितवनको सिडियो साप संग कुरा गरेको थिए’ उनले भने ‘साँझसम्म बाटो एक तर्फी खुल्ने आशा छ । त्यो भयो भने बाटोमा रोकिएको ट्याकर जिल्ला भित्रने र समस्या समाधान हुने छ ।’




