काठमाडाैं । साझा यातायातले काठमाडाैंबाट चितवनको नारायणगढसम्म बस सेवा सञ्चालन शुरू भएको छ । दशैंको अवसरमा साझाले हिजोदेखि कोजाग्रत पूर्णिमासम्मका लागि बस सेवा सञ्चालन शुरू गरेको हाे ।
यात्रुहरूलाई सहज, सस्तो र भरपर्दो यात्रा गराउने उद्देश्यले दशैं मनाउन जाने/आउनेको चापलाई समेत ध्यानमा राखी सेवा सञ्चालन गरिएको साझा यातायातले निकालेको सूचनामा उल्लेख छ ।
पुल्चोक साझा यातायातबाट बस निस्कने र लगनखेल–सातदोबाटो–कोटेश्वर–गौशाला–चक्रपथ–गोङ्गबु बसपार्क हुँदै कलंकीबाट नारायणगढका लागि प्रस्थान गर्ने छ । बस सेवा कलंकीबाट विहान ७ बजेदेखि शुरू भई हरेक १ घण्टाको अन्तरमा यात्रुहरू लिएर नारायणगढका लागि बस प्रस्थान गर्नेछ ।
विहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजे नारायणगढका लागि बसहरू प्रस्थान गर्ने र नारायणगढ पुगेपछि ती बसहरूले यात्रुहरू लिई नारायणगढ बस पार्कबाट पुल्चोक हुँदै काठमाडाैं फर्कने छ ।
साझामा यात्रुले एकतर्फी यात्रा गरेबापत ३०० रुपैयाँ तिर्नुपर्ने र अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने छ । साझा यातायातका अनुसार बसमा यात्रा गर्दा सिटमा बाहेक उभिएर वा मुडामा बसेर यात्रा गर्न पाइने छैन ।
टिकट लिए/नलिएको वा दिए/नदिएको विषयमा ठाउँ–ठाउँमा अनुगमनको व्यवस्था गरिएको छ । टिकट नलिइ यात्रा गर्ने यात्रुलाई प्रचलित नियम/कानुन बमोजिम कारबाही हुने, टिकट नदिने परिचालक वा चालकसमेतलाई कामबाट हटाउने साझाले जनाएको छ ।




