धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० काे जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ ।
रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ ।
पहिराे पन्छाउन ६-७ घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएकाे छ ।



