गोरखा । गोरखा दरबारको दशैंघरमा आज बिधिपूर्वक जमरा राख्ने काम सम्पन्न भएकाे छ ।
वडादशैं अर्थात नवरात्रको पहिलो दिन घटस्थापना पर्वको अवसरमा मूलदरबारकाे गर्भ गृह, जमरा काेठा, गोरखनाथ गुफा, उपल्लो काेट र तल्लाे काेटमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले बताए ।
परम्परा अनुसार आज विहान सवेरैको भुकभुके उज्यालोमा कैलास कोठाबाट देवी भगवती (कालिका)लाई मूलदरबारको गर्भगृह (पुजा कोठा) मा सवारी गराइ पदस्थापना गराएपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले जानकारी दिए ।
‘‘कैलास कोठामा देवीलाई सवारी गराएपछि विहानको शुभसाइतमा बिधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उनले भने, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पुजा कार्यमा प्रयोग हुने भाडावर्तनहरु माझ्ने तथा शैलपुत्रीको पुजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’’
गोरखा दरबारको दशैंघर र कालिका मन्दिरमा १-१ पाथीका दरले जौंको जमरा राखिएको उनले बताए । त्यस्तै गोरखनाथ गुफामा ४ माना, उपल्लो कोट २ माना र तल्लो कोटमा १ माना जाैं काे जमरा राखिएको मूलपुजारी भट्टराईले जानकारी दिए ।
घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्रै देशभरका हिन्दुधर्मालम्बीले घर–घरमा जमरा राख्छने परम्परा रहदै आएकाे छ ।
प्रतिपदा सुरु भएसंगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ ।
त्यस्तै गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज विहानको शुभसाइतमा मकै र जाैं काे छुट्टाछुटै जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान बहादुर थापाले बताए । मन्दिरकाे जमरा काेठामा मकै र जाैं काे गरी १ मानाकाे जमरा राखिएकाे पूजारी थापाले जानकारी दिए ।
घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टिकासंगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।




