काठमाडाैं । आज देशैभर पानी पर्ने सम्भावना छ । मौसम बदली नै रहेको र धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
बागमती र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थान तथा बाँकी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भाग र लुम्बिनी प्रदेशको तराइका भागका केही स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भागका केही स्थानमा राति मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भागका केही स्थानमा ठूलो पानी पर्न सक्नेछ । ठूला साना नदीखोलामा पानीको सतह बढ्न सक्ने, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा सतर्क रहन तथा पूर्वतयारी गर्न आग्रह गरिएको छ ।
हिजो र गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएको कारण देशका सबैजसो ठाउँमा बदली भएर धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति लुम्बिनी र कर्णालीका केही स्थानमा ठूलो पानी परेको हो । सबैभन्दा धेरै नवलपुरको देउरालीमा र त्यसपछि सुर्खेतको गोठीकाँडामा पानी परेको छ ।
पछिल्लो १२ घण्टामा देउराली नवल केन्द्रमा १०९.६ मिलिमिटर वर्षा मापन भएको छ । त्यसैगरी सुर्खेतको गोठीकाँडा केन्द्रमा १०१.४ मिलिमिटर वर्षा मापन भएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, चितवनलगायतका जिल्लामा पनि लगातार जसो पानी परेको छ ।



