काठमाडाैं । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ । गएराति सिन्धुपाल्चोकको चौतारा, तनहुँको देवघाट, सुनसरीको चतरालगायतका क्षेत्रमा मध्यम वर्षा भएको छ ।
चौतारामा पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै ४४.२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै देवघाटमा ३३.८ मिलिमिटर र चतरामा १६.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी र बागमती प्रदेशका पहाडी थोरै ठाउँ तथा गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । पहाडी भागका केही तथा तराइका थोेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी केही स्थानमा ठूलो पानी पर्नसक्ने सम्भावना छ । आज राति पनि देशभरको मौसम साधारणतया बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी पहाडी तथा तराइ भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।




















