काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि केन्द्रिउ कारागार सुन्धारामा रहेर भागेका टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् ।
कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् ।
रायमाझीले नै आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा ३ हजार ८०० कैदीबन्दी रहेकोमा ३ हजार ३०० फरार भएका थिए । सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएकाे कारागार प्रशासनले जानकारी दिएकाे छ ।
फरार भएका मध्ये केही कैदीबन्दी भने कारागार फर्किसकेका छन् । केही फर्कने क्रममा रहेको छ । भुटानी शरणार्थी काण्डमै कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन तयार रहेको सन्देश पठाएको कारागार प्रशासनले बताएको छ ।
नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले मंगलबार राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत जनाएकाे छ ।



