धनगढी । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको ८ वटा कारागारबाट करिब १ हजार ४०० जना जति कैदी बन्दी भाग्न सफल भएका छन् । बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका हुन् ।
मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले नै कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर भगाएका हुन् ।
सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर विश्वकर्माले कैलाली कारागारमा मात्रै ७०० सय जना कैदी बन्दी रहेकाे बताए । उनका अनुसार कैलाली सहितका अन्य कारागारबाट करिब १ हजार ४०० कैदी बन्दी भाग्न सफल भएकाे छ ।
कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार १३ पुरुष र ९ जना महिला कैदीबन्दीले आफूहरु कानुनको उल्लङ्घन गरेर नभाग्ने भन्दै बाहिर निस्कन नमानेका हुन ।
जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् । भागेकामध्ये मंगलबार ३ र बुधबार २ गरेर ५ जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
यी बाहेकका प्राय: जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।



