काठमाडाैं । जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले आज काठमाडाैंमा प्रदर्शन गर्ने तयारी पुरा गरेकाे छ । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरुको तयारी छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडाैंले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने शर्तमा प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।
विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्थालाई कडा पारेको छ । प्रदर्शनलाई लक्षित गर्दै ठाउँ ठाउँमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।
प्रशासनले घुसपैठ हुन सक्ने आङ्कलन गर्दै आयोजकहरुलाई सजक हुन समेत भनेको छ । प्रहरीले कानूनविपरीतका क्रियाकलाप हुन नदिने भन्दै त्यहीअनुसार जनशक्ति परिचालन गरेकाे जनाएको छ ।
सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् ।
युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् ।



