काठमाडाैं । आज कोशी र कर्णाली प्रदेशको पहाडका केही स्थानमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा पर्ने महाशाखाले जनाएकाे हाे ।
पछिल्लो ३ घण्टामा पाल्पाको कुमालगाउँ वर्षामापन केन्द्रमा मध्यम वर्षा भएको छ । त्यहाँ ३७.८ मिलिमिटर वर्षा मापन भएको छ । देशका अरू थोरै ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा मौसम साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागमा पनि थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ ।



