काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने बारा कोल्हवी नगरपालिका-४ घर भएका २६ वर्षीय कार्तिक कुमार चौधरी र काठमाडौं महानगरपालिका-१६ बस्ने इलाम, इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन् ।
पक्राउ परेका मध्ये कार्तिकले सर्विया पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट ४२ लाख रूपैयाँ र मनोजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएपछी पिडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।
प्रहरीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको थियाे ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।




















