एजेन्सी । थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ । कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा तानिएकी सिनावात्राले नैतिकताको उल्लंघन गरेको भन्दै शुक्रबार पदमुक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हाे ।
हुन सेन कम्बोडियाका प्रभावशाली नेता हुन् । सेनसँगको फोन कलमा सिनावात्राले ‘अंकल’ भनेर सम्बोधन गरेकी थिइन् ।फोनवार्ताको अडिओ बाहिरिएपछि संवैधानिक अदालतले नै जुलाइ १ मा उनलाई निलम्बन गरेको थियो । उनीहरूबीच सीमा विवादबारे कुराकानी भएको थियो ।
तर फोन कलमा हुन सेनलाई ‘अंकल’ भनेर थाइल्याण्डको नीति विपरित काम गरेको आरोप लागेको थियो । फोन कलमा सिनावात्राले थाइल्याण्डकै सैनिक कमाण्डरको आलोचना समेत गरेकी थिइन् । पछि सिनावात्राले आफ्नो अभिव्यक्तिबारे वार्ताको रणनीति बताउँदै माफी मागेकी थिइन् ।
थाइल्याण्डको इतिहासमा कम उमेरमै प्रधानमन्त्री बनेकी सिनावात्रा करिब १ वर्ष प्रधानमन्त्री भइन् । अर्बपति सिनावात्रा परिवारकी पेटोङटार्न १० महिनादेखि सत्तामा थिइन् । उनी सन् २००१ मा प्रधानमन्त्री निर्वाचित भएका थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् ।
उनको परिवारले निर्वाचनमा लगातार राम्रो प्रदर्शन गर्दै आइरहेको छ । तर सो परिवारनिकट नेताहरूको सरकार थाक्सिनको सरकारजस्तै सैन्य ‘कू’ र सेनाको प्रभाव रहेको अदालतको शिकार बन्दै आएका छन् ।
सिनावात्राको अडिओ बाहिरिएको हप्तौंपछि २ देशबीच तनाव सिर्जना भएको थियो । ५ दिनसम्म एकले अर्कामाथि हमला समेत गरेका थिए । जसमा कतिपय मानिस मारिएका थिए ।
थाइल्याण्डमा राजतन्त्रको आडमा सेना धेरै शक्तिशाली छ । उनको सो टिप्पणीले ‘लक्ष्मण रेखा’ पार गरेको मानिन्छ । तर, त्यसपछि पनि विवाद मत्थर भएन । एक प्रमुख पार्टीले उनको सत्तारूढ गठबन्धन छोडेको थियो ।



