एजेन्सी । अर्जेन्टिनाका राष्ट्रपति जाभियर माईलीलाई मध्यावधि निर्वाचन प्रचारका क्रममा आक्रमण भएपछि सुरक्षा निकायले सुरक्षित स्थानतर्फ लगेका छन् ।
बुएनोस आयर्सको लोमास दे जामोरामा चुनावी अभियानका क्रममा गाडीको पछाडिबाट हात हल्लाइरहेका बेला माईलीमाथि प्रदर्शनकारीहरूले ढुंगा र बोतल प्रहार गरेका थिए । कम्तीमा एक ढुंगा गाडीको बोनटमा लागेको र अरू वस्तुहरू पनि उनको टाउकोमाथि फ्याँकिएको देखिएको बताइन्छ ।
घटनापछि उनका समर्थक र विरोधीबिच धक्का-मुक्की भएको र एक समर्थकको छातीमा चोट लागेको एएफपी समाचार एजेन्सीले जनाएको छ । तर राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुअल अडोर्नीले भने कसैलाई गम्भीर चोट नलागेको बताएका छन् ।
घटनापछि राष्ट्रपति माईलीले सामाजिक सञ्जालमा आफ्नो ‘थम्ब्स अप’ फोटो पोष्ट गर्दै विपक्षीलाई हिंसामा संलग्न भएको आरोप लगाएका छन्। उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो ।
माईली त्यतिबेला आफ्नी प्रमुख सल्लाहकार तथा बहिनी करिना माईलीसहित अभियानमा सहभागी थिए । उनले समर्थकसँग भेटघाट गर्दै पुस्तकमा हस्ताक्षर गरिरहँदा आक्रमण भएको हो ।
राष्ट्रपति कार्यालयले ढुंगा र बोतल फ्याँक्नेहरू विपक्षी दलका समर्थक भएको दाबी गरेको छ । लोमास दे जामोरा परम्परागत रूपमा विपक्षी पेरोनिस्टहरूको गढ मानिन्छ ।
बुएनोस आयर्स प्रान्तमा आगामी सेप्टेम्बर ७ मा स्थानीय चुनाव र अक्टोबर २६ मा मध्यावधि निर्वाचन हुँदैछन्, जसलाई राष्ट्रपति माईलीले विपक्षी क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गर्ने अवसरका रूपमा हेरेका छन् ।



