शैलेन्द्र थापा
खासमा मेरो पेशा लेख्ने होईन तर लेख्नलाई कुनै पेशा व्यवसायले फरक पार्ने पनि त होईन । लेख्नको लागि मेरा आफ्नै सिमितता छन् । ती सिमित घेराभित्र रहेर लेख्नुपर्छ । यसो गर्दा कति लेखहरु पूर्ण नभएको, हल्का भएको आफैलाई महशुस पनि हुन्छ ।
म एक सुरक्षाकर्मी, सुरक्षा मेरो धर्म र कर्म हो । अर्कोतर्फ म आम संचारको विद्यार्थी अनि केही वर्ष मुलधारका संचार माध्यममा काम गरेको फिल्डको अनुभव । जसले गर्दा कतिपय विषयहरुमा कलम चलाउन मन लाग्नु अस्वाभाविक पनि लाग्दैन । संचारकर्ममा रहँदा हजार बढी समाचार लेखियो होला, १ सय बढी अन्तरवार्ता लिईयो अनि उपत्यका बाहिर रिपोर्टिङ्गमा पुगेको अनुभव पनि रहे । त्यो बेला देखिको रहर र ईच्छा अझै मरेको छैन भन्दापनि हुन्छ । त्यती रहरले मलाई पत्रकारिता तथा आमसंचारमा स्नाकोत्तर गर्ने इच्छा पुरा पनि गरायो । आम संचारको विद्यार्थी हुनु र आफ्नो अहिलेको जिम्मेवारीले पनि संचारमाध्यम र सामाजिक संजालसँग निकट रहनु मेरो कर्तव्य हो । संचार माध्यममा आएका सबै समाचारले मन नछुन सक्छ । त्यो हरेक व्यक्ति विशेषमा भर पर्ने कुरा हो । तर सामाजिक रुपमा भएका गतिविधिले मलाई कहिले काही बेचैन गराउँछ ।
यिनै कुराहरु बीच विशेष गरी समाजमा भएका विकृती र विसंगतीप्रति थुप्रै असहमती रहन्छन् र कतिमय कुराहरुमा लेखेर आफ्ना भावना उजागर गर्न मन नलाग्ने पनी होईन । केही दिन यता संचार माध्यममा आएका समाचारले भने मन मस्तिष्क त्यसै त्यसै वेचैन गराईदिएको छ । कतिपयले फौजीको मन कठोर हुन्छ भन्ने कुराको ठिक विपरित मन त्यसै पग्लिन्छ मानविय समवेदना र भावनात्मक पाटो सम्झिएर ।
हालैका दिनमा एक विषय वस्तुमा समाचार आयो–प्रसुती गृह थापाथलीबाट बालिका चोरी भयो, दिन दाहाडै एक महिलाले ती बालिका चोरेर काँडाघारी आफु बस्ने डेरा कोठासम्म पु¥याईन्, किनकी उनका सन्तान थिएनन् र सन्तान प्राप्तीको असिमित चाहनाले उनलाई गलत बाटोमा जान बाध्य पा¥यो । कानुनको नजरमा यो एउटा दण्डनिय कार्य त हो नै तर त्यो भन्दा कम समवेदनायुक्त छैन आमा हुन वा सन्तान प्राप्तीको चाहनाको भावनात्मक पाटो । फागुन ११ गते शुक्रबार प्रसुती गृहबाट बच्चा चोरी भएको समाचारमा फलोअप रिपोर्ट आउने क्रममै थियो । त्यसको ४८ घण्टा नबित्दै आईतबार फेरी त्यस्तै अक्षम्य अपराध करार हुनसक्ने तर भावनात्मक पाटो जोडिएको अर्को खबरले अनलाईन माध्यमका भित्ता र सामाजिक संजाल रंगियो । जसको शिर्षक थियो ‘छोरी जन्मिएको भन्दै परिवारले झगडा ग¥यो, शिशुलाई अस्पतालमै छोडेर हिडिन् आमा ।’
यी दुवै घटनाक्रमलाई हेर्दा एउटी महिला आमा बन्न नसकेको तनाव वीच बच्चा चोर्न बाध्य छिन्, भने अर्को महिला आमा बनेर पनि सन्तानलाई अस्पतालमा छोडेर भाग्न बाध्य छिन् । कसैलाई चोरेर भएपनि सन्तान चाहिएको छ कसैलाई छोरी भएकै कारण छोडेर हिड्नुपर्ने बाध्यता छ । यी दुई विल्कुल फरक प्रकृतीका घटना हुन् तर यसमा एउटा समानता केही न केही अवश्य मिल्छ, त्यो के भने घर परिवार र समाज । यी दुवै घटनामा यही घर परिवार र समाज मुख्य दोषी हो भन्दा यो एउटा सर्वमान्य जवाफ नहुन सक्छ तर सत्य यही हो पनि । कसैलाई चोर्न बाध्य बनाएको छ, कसैलाई छोड्न बाध्य पारेको छ । अर्थात घर परिवार र समाजले चैनकासाथ बाच्न दिदैनन् मरेपछि सबैले विचरा भन्छन् । यो लज्जास्पद र सर्मनाक तितो विडम्वना सभ्य समाज र २१आँै शताब्दीको घर परिवार भन्न पनि सुहाउने कुरा होईन ।
जसरी बच्चा चोर भनेर उनलाई कानुनको कठघरामा उभ्याईन्छ र सजाय दिइन्छ, सम्भवत त्यो भन्दा ठुलो पीडा चोट र सजाय त घर परिवारले वा समाजले दिएको हुनसक्छ । नत्र मानिस त्यो हदसम्म विक्षिप्त भएर वा तनाव लिएर बच्चा चोर्दै सुत्केरी भएको अभिनय गर्न सक्दैन । यो एक काल्पनिक पनि हुनसक्छ की उनलाई पारिवारिक वा सामाजिक दवाव थियो । तर धेरै घटना र हदसम्म यस्ता कुरा यो समाजमा अझै व्याप्त छ । नेपालको कतिपय भूगोल आज पनि दाईजो प्रथाले आक्रान्त छ, जहाँ सयौ बुहारीहरु दाईजोका कारण मारिएका हुन् भने बाँचेका पनि अनेकौ पीडा र यातना सहेर जिउँदै मरेतुल्य भएर बाँचेका छन् । दाईजोका नाममा, छोरी भएका नाममा वा सन्तान नभएका नाममा हुने हिंसालाई सामान्य मान्न सकिदैन र यो सभ्य समाजका लागि सुहाउने र स्विकार गर्न सकिने विषय होईन । चाहे शिक्षित परिवार होस् वा अशिक्षित सबै तिर कुनै न कुनै रुपमा हिंसा भएका कतिपय यस्ता घटना घरभित्रै लुकाईन्छ त कतिपय सतहमा आउँछन् फरक यत्ती हो । आजसम्म हामीले निसन्तान हुनु महिलाको मात्र दोष होईन वा छोरी जन्मनुमा महिलाको कुनै भूमिका हुँदैन भनेर समेत बुझाउन सकेनौँ र बुझेका भनेकाले पनि नबुझे जस्तोे गरिदिए र बुहारी माथी हिंसा गरिरहे ।
सन्तान हुनु, छोरा नै पाईदिनु महिलाको ठेक्का होईन न त यो उनमा निर्भर छ भन्ने कुरा समेत यहाँ बुझानेहरुले त नबुझेको जस्तो गर्छन् भने नबुझेकालाई त अझ बुझाउन कठिन छ । छोरीलाई पढाउनु हुँदैन वा राम्रो विद्यालयमा पढाउन जरुरी छैन भन्ने तल्लो स्तरको सोच भएकाहरु पनि हाम्रै घर परिवार र समाजभित्र छन् । निन्द्रामा रहेकोलाई ब्युझाउन सकिन्छ तर निदाएको अभिनय गर्नेलाई सकिदैन । यो समाजको बिकृती त्यस्तै प्रकृतीको छ । नत्र कोही किन चोरको दर्जामा पुगेर अरुका बच्चा लगेर आमा बन्न खोज्छ र अझ अर्को कुरा समाचार मै आए अनुसार ती महिलाले बच्चा लगेर आफु सुत्केरी भएको भन्दै छरछिमेक र आफन्तलाई खबर समेत गर्न भ्याईन आखिर यो हद सम्मको बाध्यता यही घर परिवार र समाजको उपज हो किन नभन्ने ?
अर्कोतर्फ बिरगंजको घटना उत्तिकै मार्मिक छ । फागुन १२ गते एक महिलाले नारायाणी अस्पताल विरगंजमा छोरी जन्माईन । छोरी जन्माएको भन्दै परिवारले झगडा गरेपछि ती महिला नवजात शिशु छाडेर हिडिन् । यसअघि तीन वटा छोरी जन्माएकी महिलाले चौथो सन्तानको रुपमा पनि छोरी जन्माएकी थिईन् । छोरी जन्माउनु नै उनको दोष भयो वा अपराध भयो किनकी छोरी जन्मिएपछि सासुले गाली गरेको र रिसाएको स्वयम अस्पतालका डाक्टरहरुले भनि रहेका छन् । जसका कारण जन्मिएपछि पाउनुपर्ने मातृवात्सल्यबाट अबोध शिशुलाई बन्चित गराईएको छ । अर्थात जन्मिएपछि आमाको न्यानो काख चाहिने अबोध शिशुलाई अस्पतालको बेडमा चिसो बनाईयो । यसमा ती निर्दोस आमाको कहिंकतै दोष हुँदै होईन । दोष त फेरी पनि उही घरपरिवार र समाजको हो । जसले उनलाई यसअघि पनि छोरी पाएकै कारण यातना दिएको हुनुपर्छ । तर ती यातना दिनेलाई छोराछोरी के हुने भन्ने कुरा पुरुषमा निर्भर हुन्छ भनेर कस्ले सम्झाई दिने कस्ले बुझाईदिने ? नत्र नवजात शिशुको के दोष अनि तिनले केको सजाय भोग्नुपर्ने । मातृवात्सल्यबाट बन्चित भएर ?
छोरा र छोरीमा गरिने यो प्रकारको भेदभाव कानुनी रुपमा दण्डनिय हो भने सामाजिक रुपमा कुरिती र कुसंस्कार हो भनेर लक्षीत वर्ग र समुदायसम्म सन्देश नपुगेका होईनन् । तर ती अझै पर्याप्त छैनन् भन्ने यस्ता घटनाले देखाउँदछ । निसन्तान हुनुको दोष महिलाले मात्रै खेप्नुपर्ने अर्को विडम्वनाले पनि एउटी महिला बच्चा खोज्न र चोर्न बाध्य छिन् भने छोरी पाउनुको दोष पनि महिलाले मात्रै बोक्नुपर्ने भएर होला अस्पतालमै आफ्नो सन्तान छोडेर हिड्न परेको । यति सानो कुरामा त हाम्रो चेतना स्तर माथि उठ्न सकेको छैन भने हामी स्वतन्त्रता र समानताका अरु कुरा गर्छौ, सभ्य समाज निर्माणको र विकाशित मुलुकको कुरा गर्छौ । यी र यस्तै सामाजिक कुसंस्कारमा हाम्रो सोच बदलिनु जरुरी छ ।
खासमा सुन्दा र पढ्दा पनि दर्दनाक लाग्ने मन खिन्न हुने र विचलीत हुने खबर हुन् यी । जुन अझै पढ्नु र देख्नु परेको छ । हामीले जतिसुकै अधिकार र स्वतन्त्रताका कुरा गरेपनि ती लक्षित वर्गसम्म यसको चेतना फैलाउन नसके त्यसले कुनै प्रकारको प्रतिफल दिन सक्दैन । नत समाज परिवर्तनको लक्ष्य नै पुरा हुन्छ । आफुले जन्माएको सन्तान छोडेर हिड्नुपर्ने बाध्यात्मक अवस्थासम्म कस्ले पु¥यायो भन्ने सवाल महत्वपूर्ण हो । जसको निराकरण जरुरी छ । नत्र दाईजोका नाममा, सन्तान नभएका नाममा वा छोरी पाएका कारण मारिन्छन् र यातना भोगेर, हिंसा खेपेर विक्षिप्त हुन्छन् कयौ बुहारीहरु । घर परिवार र समाजलाई त्यसैमा रमाउनु छ तर कसैले कसैलाई यस्ता वहानामा यातना र हिंसा गर्न दण्डनिय अपराध हो भनेर बुझाउनु र यसलाई न्यूनिकरण गर्नु सभ्य समाज निर्माणको अनिवार्य शर्त पनि हो ।
थापा सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सशस्त्र प्रहरी बलका सह–प्रवक्ता हुन्


