गाेरखा । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज २ वटा खेल हुँदैछन् ।
आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो ।
सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० तथा चितवन र पोखराबिचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछन् ।
जारी एनपिएलमा कर्णालीले ३ खेल खेल्दा २ मा जित र १ खेलमा मात्र हार व्यहोरेको छ । ऊ लगातार २ जितपछि पछिल्लो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध पराजित भएको थियो ।
कर्णाली आज सुदूरपश्चिमलाई हराएर तेस्रो जित निकाल्ने योजनामा छ । सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले ४ खेल खेल्दा २ मा जित र २ खेलमा हारको सामना गरेको छ ।
सुदूरपश्चिम आज कर्णालीलाई हराएर अङ्क तालिकामा सुधार गर्ने योजनामा छ ।
आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने पोखरा अहिलेसम्म जितविहीन छ । उसले ३ खेल खेल्दा सबै खेलमा हारको सामना गरेको छ । कुशल भूर्तेल नेतृत्वको पोखरा आज चितवनलाई हराएर जितको खाता खोल्ने योजनामा छ ।
चितवन कमजोर देखिएको पोखराविरुद्ध जित दर्ता गरेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ । उसले ४ खेल खेल्दामा २ खेलमा जित, १ मा हार तथा १ खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।
जारी संस्करणको एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


