गाेरखामा गाँजा फाड्दै नेपाल प्रहरी
केदार खनाल
गाँजा नेपालमा पाईने जंगली बनस्पतीको एक प्रजाती हो । विशेषत नेपालको पहाडी भूभाग देखि अन्य क्षेत्रमा समेत पाईने गाँजालाई पौराणिककालमा शिवजीले सेवन गर्ने “शिव बुटी” का रुपमा आज पनि हिन्दु संस्कृति भित्र प्रख्यात छ । केही बर्ष अघिसम्म पशुपतिनाथमा
शिबरात्रीको अवसरमा मेला भर्न आउने साधुसन्तहरुलाई प्रसादको रुपमा गाँजा बाडिने प्रचलन पनि थियो र हाम्रै समाजमा पनि यसको प्रयोग औषधीको रुपमा गरिदै आएको पाइन्छ । गाँजालाई ग्याष्ट्रिक, अरुची जस्ता समस्यामा मानिसले सेवन गर्दथे भने गाईवस्तु, बाख्रा आदीलाई छेरपटे लाग्दा खुवाउने गरिन्थ्यो । यसका अलावा अन्नवाली भण्डारण गरेका स्थानहरुमा यसलाई राखि दिँदा घुन पुत्ला लगायत अन्य किराहरु नलाग्ने हुँदा गाँजाका गुणहरु अवश्य पनि मानवहितमा छन् भन्ने प्रमाणित हुन्छ ।
हुनपनि गाँजाको लोक्ताबाट कपडा, डोरी, कागज बनाउन प्रयोग गर्न सकिने र डाँठको कागज देखि यसका फल (गेडा) अचारको रुपमा प्रयोग गर्न सकिन्छ । २५ रोपनीमा रहेको जंगलबाट पाइने अक्सिजन केवल एक रोपनी जग्गामा लगाएको गाँजाबाट प्राप्त गर्न सकिन्छ । जहाँ कि कुनै विरुवा रोपी हुर्काउदा ३० देखि ५० बर्षमा वातावरण योग्य हुन्छ भने गाँजा ४ देखि ५ महिनामा प्राकृतिक गुणयुक्त हुन्छ ।
बैज्ञानिकहरुका अनुसार गाँजाले क्यान्सर, एड्स, वाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिन्द्रा देखि मेरुदण्डको कडापन जस्ता समस्याहरुको उपचारमा महत्वपूर्ण काम गर्दछ । त्यस्तै यसले पशुको हार्मोन बढाउने काम पनि गर्छ । पछिल्लो समय गाँजाबाट कारको बडि बनाउने, साबुन, सौन्दर्य सामाग्री लगायत भवनहरुको इन्सुलेट गर्ने जस्ता कार्यमा प्रयोग गर्ने गरिएको पाइन्छ ।
नेपाली गाँजाको बिषयमा तीस (३०) को दशकमा प्रचार एवं स्तरियताका बारेमा चर्चा परिचर्चा निकै भएको पाइन्छ । अमेरिका लगायत युरोपेली देशहरुबाट हिप्पीहरु गाँजाको खोजीमा नेपाल आउने र नेपालका पहाडी जिल्लाहरु रुकुम, रोल्पा, जाजरकोट, सल्यान, बागलुङ, गोरखा, मकवानपुर आदि जिल्लाका जंगलमा गई त्यहाँ उम्रेका गाँजाको संकलन प्रसोधन समेत गरेका दृष्टान्तहरु पाइन्छन । यस कार्यलाई उक्त समयमा गाँजा पर्यटन (Hashish Tourism) को रुपमा ब्याख्या गर्ने गरिएको र नेपाली गाँजा काठमाण्डौको ठमेल देखि युरोपियन बजारमा बिक्रिबितरण हुने गरेका कुरा तथ्य र विभिन्न प्रमाणहरुबाट पुष्टि हुन्छ । यस अवधिमा युरोप, एसिया लगायत अन्तर्गतका मुलुकहरुमा गाँजाको ओसारपसार र बिक्रिवितरण ब्यापक भएको पाइन्छ ।
ब्यापक रुपमा फैलिएको लागु औषध कारोबारलाई नियन्त्रण गर्न संयुक्त राष्ट्र संघले बिभिन्न सन्धीहरु प्रस्ताव गरेको पाइन्छ । सोही अनुसार नै नेपालले लागु औषध नियन्त्रण सम्बन्धी तीन वटा सन्धीहरुमा हस्ताक्षर गरि नेपालमा पनि लागु औषध नियन्त्रण ऐन २०३३ जारी गरेको थियो । पछिल्लो पटक सन् १९८७ मा लागू औषध र रसायनिक लागु औषध कारोबार, ओसारपसार सम्बन्धी सन्धीमा हस्ताक्षर गर्ने नेपाल अन्तिम राष्ट्र हो । त्यति बेला नेपालले रिजर्भेसन सहित उक्त सन्धीमा हस्ताक्षर गरेको र गाँजाको हकमा मान्य नहुने तथ्य राखिएको थियो ।
नेपालले राखेको उक्त रिजर्भेसन डेढ बर्ष भित्र अन्य राष्ट्रहरुले बिरोध गरेको भए नेपालले उक्त सन्धी अक्षरसः लागु गर्नु पर्ने थियो तर त्यो अवधिमा कसैले पनि बिरोध गरेनन् । त्यसैले नेपालमा बिद्यमान रहेको कानूनले गाँजालाई प्रतिबन्ध गरेको बिषय बेला बेलामा चर्चा र वहसको बिषय बन्ने गरेको पाइन्छ । यावत वहसहरुका बिचमा पनि दीर्घकालिन कार्ययोजना विना गाँजालाई कानून सम्मत गर्ने कार्यले भबिष्यमा भयवाह समस्या निम्त्याउने त होइन भन्ने महत्वपूर्ण प्रश्न खडा गरेको छ ।
गाँजा साच्चिकै गलत बस्तु हो त रु यसले हाम्रो समाजमा ठुलै हानी नोक्सानी गरेको छ त रु यो प्रश्न बहसको बिषय बनेको छ । हुनपनि नेपालमा लागु औषध दुर्ब्यसनीका रुपमा अधिकांश युवाहरु पीडित हुनु र अन्य लागु औषध भन्दा गाँजाको सहज प्राप्तीका कारण पनि दुर्ब्यसनको पहिले खुट्किलोको रुपमा यसलाई लिईने हुँदा पनि छलफलको बिषय बनेको हो । यसले युवाशक्तिमा प्रत्यक्ष असर पारेको कुरामा द्विबिधा छैन ।
नेपालको लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १,३०,४२५ जना लागु औषध प्रयोगकर्ता रहेको र यस अघि २०६९ को सर्वेक्षणमा ९१,५३४ जना प्रयोगकर्ता रहेको देखिदा प्रयोगकर्ताहरुमा लागु औषध प्रतिको मोह दिन प्रतिदिन गुणात्मक रुपमा बढिरहेको देखिन्छ । यस्तो स्थितिमा गाँजालाई बैद्यता दिदा समाजमा अहिले बिद्यमान रहेको दुर्ब्यसन झन बढ्न जाने तर्फ राज्य सचेत र स्पष्ट भई कार्ययोजना बनाई अघि बढ्नुपर्ने देखिन्छ ।
सरसर्ती हेर्दा गाँजालाई बैद्यता दिदा लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसाथ गरि फाइदा बेफाईदाको एकिन गरिनुपर्दछ । एकातिर कलिला युवाहरुलाई सहज र खुल्ला रुपमा पाईने गाँजा आकर्षणको केन्द्र बन्ने अवस्था वरकरार छ भने अर्को तर्फ राज्यले यसलाई वैद्यता दिएपछि मुलुकको समग्र सामाजिक, आर्थिक अवस्थामा आउने फेरवदल वा परिवर्तन ल्याउने कुरामा राज्य कति गम्भीर हुनसक्छ भन्ने कुरामा सचेत हुन जरुरी हुन्छ ।
अहिले गाँजा प्रतिबन्धित हुँदा समेत युवाहरु दुर्ब्यसनमा फसेर परिवार, गाउँ समाज आक्रान्त छ भने खुल्ला रुपमा विना रोकतोक गाँजा भेटिदा उनीहरुको स्थिति के होला रु यसले गर्दा राज्यका निकायबाट चालिने कदम परिणाममुखी पीडित परिवार मुखी भई भरपर्दो योजना तर्जुमा निर्माण गर्नु जरुरी हुन्छ । त्यो योजना भित्र सामाजिक रुपमा भईरहेको क्षतिको न्यूनिकरण, युवाहरुको मानसिक तथा शारिरीक स्वास्थ्यको व्यवस्थापनका साथै सुधार र सचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्ने हुन आउदछ । संगसंगै लागु औषध सम्बन्धी ऐनलाई पुनःलेखन गरि बिद्यमान समस्याहरुको समाधान निस्कने गरि “सर्प पनि मरोस लट्ठी पनि नभाँचियोस” भन्ने तथ्यमा अडेर कार्य अघि बढाउनु राष्ट्रहितमा हुनेछ ।
प्रहरी उपरीक्षक खनाल नेपाल प्रहरी प्रदेश कार्यालय कास्की पोखरामा कार्यरत छन्


