तिलक पाैडेल
उन्तीस गते बैशाखको, मङ्लबार्का दिन,
बाह्र पचास समयमा, रहे-बँचेका लिन ।
जस्तै गरी सात् चारको, झड्का भूइँचालोको,
जाँदा कस्ले देख्नु बरै ! हाम्रो मन रोको ??
जनजीवन सामान्य हुँदैथ्यो,
घर सम्झेर मन् सारै रुँदैथ्यो ।।
एक घण्टाको अवधिमै, तीन्टा झड्का ठूलै,
जाँदा घर्मा फर्किनु त, भएछ पो भूलै ।
भनेझैँ भो सबैजना, खुला चौरतिर,
लाग्यौँ त्रिपाल् नहुनेलाई, पर्यो साह्रै पीर ।।
गैर’न्छन् कि ! झड्काले मन भूटो,
पैल्हो पाल्घर् फालेको पछुतो ।।
कोही लाग्यौं त्रिपाल खोज्न, कोही खाडल खन्न,
कतै छैनन् सांसद्ले पो, लगे भन्ने रन्न ।
चर्चा सुन्थ्यौँ हो र’छ कि, गोप्य तरिकाले,
वितरण पो गरेछन् कि, नाकै न’भाकाले ।।
रड् छड् सिमेन्ट गिटी’नि पचाउँथे,
नेता-सेवक् किन लाज् बँचाउँथे ।।
गाउँ-ठाउँमा त राहतको, नगरेर वास्ता,
उनै काठ ढुङ्गो माटो, मिलाएर जस्ता ।
ओत लगाउने ठाउँ बनाउन, आलोपालो गरी,
नयाँ नेपाल बन्छ कि त, भनेजस्तै गरी ।।
नून् चुक् छर्यो घाउमाथि दैवले,
पहाड खसे ‘भोल्क्यानो’ झैँ बले ।।
हुनपनि सुख्खा पैरो, डाँडै भत्काएर,
ज्वालामुखी सरी धुलो, मान्छे अत्याएर ।
मुस्लो बनी वस्तीतिर, आइरहेको देख्दा,
मन् झसङ्ग हुन थाल्यो, स्टाटसमा लेख्दा ।।
यस्ता खबर चित्र र चलचित्र,
नहोस् शेयर राख भो मन् भित्र ।।
जसो तसो घरमै छिरी, बेलुकाको खाना,
धेर्जसोले खाइवरि, कोख्याएर नाना ।
उही पुरानो खुलाठाउँमा, टाँगेको पाल्मुनि,
अटेस्मटेस् पल्ट्यौँ त्यहीं, धन्य हाम्रो जुनी !!
घोर विपत्ति अनुभव भयो,
सन्त्रासले मनकै होश् लयो ।।
माडै हर्यो, डाँडै लड्यो, घर् पैल्है भत्केको,
जहान् बिते कस्ले देख्छ, भित्री मन् फत्केको ?
ढ्याक्क ढोका लागे पनि, सातै गए सरी,
शङ्का उपशङ्काको त, ताँती मनै भरी ।।
केले कैले होला यो सामान्य,
नीति नियम भो उल्लाई अमान्य ।।
घर् ढल्या त ठड्याउँला, मन ढलेको क्यारौँ ?
पुरिएका निकाल्न नि, ‘डेब्रिस’ कता सारौँ ??
एक्लाई पीर पर्याभए, मिलिजुली अरु,
सबैको हाल् एउटै भ’सी, एक्लाएक्लै क्यारु ??
कुन जुनीमा के गल्ती भा’होला,
के था हाम्लाई दैवैलाई था’होला ।।
हेराफेरी केइ नगरी, राम्रा बनाऊ नीति,
यस्तो विपद् घरिघरि, आउन्न सित्मिति ।
धैर्य बाहेक हाम्रो साथी, छैन यतिबेला,
दैव ला’छ मन् आत्या’छ, नगरे है हेला ।।
ढल्पल मन कता हो अड्याउनी,
लालाबाला कसरी पढाउनी ??
जीवनभरको कमाइले, बनाएको घर,
क्षणमै ढल्यो शुन्य भयो, केको मानौँ भर ?
गाँठो पर्छ मुटुभित्र, आँसु आँखाभरि ।
हेर्दा हेर्दै छिरोलिए, घर्गोठ पाखाभरि ।।
अमुक पशु खै कता पुरिए ?
चिन्ता पीर एकैसाथ धुरिए ।।
मन स्थीर् हुन्न घुम्न जान्छ, भत्केको घर् तिर,
आउँदा दिन क्या’री बित्लान्, लागिर’न्छ पीर ।
उराठ् लाग्दा भग्नावशेष, बिरहिलो मन,
बोकी हिँड्ने कैलेसम्म, लौ न क्वैले भन !!
मन बिसाउने चौतारी चिनिदेऊ,
ढुङ्गा दार्पात् छन् जस्ता किनिदेऊ ।।
जे जे हुनु थियो भयो, क्यै नहोस अब,
बिर्सौं अतीत् भविष्यलाई, जुट्नुपर्छ सब ।
सिकुन् नयाँ सन्ततीले, पाठ विपत्तीको,
लोभ लालच नगर्नु है, धेरै सम्पत्तीको ।।
चेतना होस् हुन्न केइ झुरार,
पुग्यारै’न्छ मिनेटलाई खुराक ।।
अति गरी कमाए’नि, ऐले खै के पायो ?
बलियाले आँटेपछि, कस्को पो के लायो ??
बस्नु पर्यो त्रिपालमुनि, अमीर् फकिर् सबै,
बनिरा’छ विपत्तिको, हाम्रो ठाउँ हबै ।।
प्रकोपको गर्नलाई सामना,
जुटोस् हिम्मत गरौँ यै कामना !!!
२०७२ जेठ १ गते शुक्रबार
अमृतनगर, कीर्तिपुर ।


