तिलक पाैडेल
भूइँचालो त आयो र गयो,
ध्वंसै पा’रो त्यसकै पीर भयो ।
कोइ घरमा दोजीयाकी, बुढा बुवा-आमा,
स-साना केटाकेटी, लाउने जाँघे-जामा ।
पशु वस्तु अमुक बरा, किलो-दाम्ले महाँ,
धक्का अग्रीम था’पाए’नि, जाने कठै कहाँ ।।
सपना पो हो कि झैँ लायो,
जाने गए बँच्नेलाई पीर भयो ।
खानेकुरा केही छैन, चिउरा एक मुठी,
क्वैका घरमा केइ भेटिए, सबै गाउँले जुटी ।
त्रिपाल् पलाष्टिक मुनि, खा’छौँ सबै भई,
दुईदिन् पुग्ला त्यसपछि, पाउने कहाँ गई ।।
घरको अनाज पुरियो घरैमा,
सबै जहान राहतको भरैमा ।
आउला सरकार ल्याउला राहत, आकाशे फल भा’छ,
दि’याछन् रे ! सबै देशले, खै के कति ल्या’छ ?
हामी बरु पानी पिउँथ्यौं, केटाकेटी क्यार्नी ?
लोकचार हुँदै गयो, बाउ-आमाको प्यार्नी ।।
भूकम्पले लगेन बाँचियो,
केइ नपाउँदा मन साह्रै भाँचियो ।
बाउ बिते, छोरी मरी, पशुवाहन पनि,
जिउँदै मरे सरी भा’छौं, शेष जहान पनि ।
ऐल्यै खुट्टा सुनि’याछन्, त्रिपाल्को बास् हुँदा,
के ख्वाएर कहाँ राख्नु, सुत्केरी भै रुँदा ।।
दोजियाली हे बैनी दिदी हो,
पीर पनि पर्या के विधि हो ?
कोराबाह्री बस्नु पर्ने, संस्कृतीय चलन,
मर्ने मरे जिउँदालाई पो, भा’छ बढी जलन ।
यसै भोकै उसै भोकै, अनसन झैँ बसौँ,
रह्यो ज्यान चाइन्छ खान, अब कम्मर कसौँ ।।
पाए लिउँला राहत सरकारी,
नत्र खाउँला नूनपानी तरकारी ।
दुष्ट्याइँ’नि मान्छेसँगै, हुने कुरा रै’छ,
अफवाह फैलाएर, चोर्न जाँदो रै’छ ।
मानवमा दानवी मन्, किन हो भगवान ?
लैजा बरु सोहोरेर, नछोडेस् जानाजान ।।
भूइँचालोका हे पुरा चोर’रू,
बिरुद्धमा उठ्दैछन् स्वरहरू ।
त्रासदी’नि साह्रै भयो, घरमा पसे पनि,
ढ्वाक्क झड्का आएपछि, दगुरेर अनि ।
उही त्रिपाल् प्लाष्टिक, खुला चौर तिर,
ज्यान कमाउँछ यसैपनि, घुमिर’न्छ शीर ।।
हप्तौंसम्म आइरा’छ झड्का’नि,
ठूलै क्षति बेहोर्यौँ पक्का’नि ।
यस्तो बेला पनि एकजुट, नहुने राजनीति,
जस्तो अरू क्षेत्र कुनै, पाइन्न सितमिति ।
संविधान त बनाएनौ, राहत त बाँडिदेउ,
यसै खल्बल् भा’छ मन, झन् यो नभाँडिदेउ ।।
कता लुके भातृ ति निकाय,
आउँदा दिनमा नरता सिकाए ।
धन्य हामी वीर् गोर्खाली, यसै रै’न्छौँ भा’का,
फोहोरी खेल नखेलने, पुर्खा रैछन् पाका ।
एउटालाई पीर पर्दा, अर्काको मन रुन्थ्यो,
मित्रताको व्यवहार, सदाचारी हुन्थ्यो ।।
विपत्तिमा चाहिने त्यो कला,
नेता सिक सिकाऊ हरपला ।
प्रकोप जुन हुने हो भयो,
शान्त बनौँ रोएर के भयो ??
२०७२ बैशाख १३ गते/आइतबार १०:३० बजे बेलुका
कीर्तिपुर-२, अमृतनगर ।



