गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बर्खायामको समयमा समेत पालिका भित्रका मुख्य–मुख्य सडकहरु सूचारु राख्न सडक हेरालु नियुक्त गरेको छ । जिल्लाका एघार पालिका मध्ये बारपाक सुलिकोटले पहिलो पटक पालिका भित्रका सडकहरुको हेरचाहका लागि सडक हेरालु राखेको हो ।
बर्खा लागेसंगै सडकमा बग्ने भल तथा स–साना पहिरोले समयमा नियन्त्रण गर्न नसक्दा सडकम बढी क्षति पुग्ने भएकाले समयमै भल तथा पहिरो व्यवस्थापन गरी सडक मर्मत सम्भार गर्न पालिकाले १७ जना सडक हेरालु नियुक्त गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
‘साना तिना भल पानी र बाढी पहिरोले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति पनि धेरै हुने गरेको छ, उहाँले भन्नुभयो, ‘यसले विकासमा थप भार पर्ने मात्र नभई लामो समयसम्म अवरुद्ध हुने अवस्था आउने गरेकाले यो वर्षदेखि पालिका भित्रका मुख्य सडक बिग्रने बित्तिकै बनाउने गरी सडक हेरालु राखेका हौ ।’
मुख्य सडक मर्मत सम्भार तथा हेरचाहका गर्न गाउँपालिकाले आगामी ५ महिनासम्मका लागि सडक हेरालु नियुक्त गरेको अध्यक्ष भट्टले बताउनुभयो । नियुक्त गरिएका सवैलाई गाउँपालिकाले तालिम तथा अभिमुखीकरण प्रदान गरि नियुक्त पत्र दिएर काममा खटाइएको उहाँले जानकारी दिनुभयो ।
‘सडक हेरालुहरुलाई सडक मर्मत सम्भारमा प्रयोग हुने सामाग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराई, टेप लगायतका आवश्यक सामग्री उपलब्ध गराएको छ , अध्यक्ष भट्टले भन्नुभयो, यस बाहेक सडक हेरालुहरुको सुरक्षाका लागि आवश्यक पर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पन्जा सामाग्री पनि हस्तान्तरण गरिएको छ ।’
पालिकाले नियुक्त गरेका सवै सडक हेरालुले पालिका अन्र्तरगतका नाला सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा पानी बग्न नदिने, झाडी–झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउने लगायतका कार्य गर्ने उहाँले बताउनुभयो । पालिका भित्रका सवै मुख्य सडकहरु समेत कच्ची भएकाले हरेक वर्ष बर्खा लागे संगै भल बाढीले सडकमा क्षति पुग्ने र बर्खा भरी नै अवरुद्ध हुने हुदाँ आउजाउमा नागरिकहरुले हैरानी खेप्दै आउनु परेको छ ।
रासस


