फाईल तस्बिर
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा उनले माल्यार्पण गरे ।
राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि सञ्चारकर्मीसँग बताए ।
उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जगेर्ना गर्न आवश्यक रहेको पनि बताए ।
समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने उनले प्रतिबद्धता जनाए ।
‘देशले पटक पटकको नयाँ नयाँ प्रयोग थाप्न सक्दैन र त्यो क्षमता नेपालसँग छैन । राष्ट्रलाई उन्नति गर्ने समय चाहिन्छ । राजनीतिक स्थायित्व चाहिन्छ । जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्ने अवसर चाहिन्छ । लोकतन्त्रको लागि सहादत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ती व्यक्त गर्दै उहाँहरूको सपना साकार पार्ने प्रण गर्छु’, उनले भने ।
राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले संग्रहालयमा वृक्षरोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरेका थिए ।


