साँकेतिक तस्बिर
ललितपुर । बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाएर यौन शोषण गर्दै आएको ललितपुर प्रहरीले जनाएको छ ।
फेसबुक मार्फत साथी बनेकाहरुलाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जानकारी दिएको छ ।
मिङलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–२२ वुंगमतीबाट पक्राउ गरेको हो ।
उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित आफ्नै अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको र अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले बालिकाहरूको उद्वार गरेको जनाएको छ ।
उनी उपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


