साँकेतिक तस्बिर
काठमाडौं । निर्वाचन आयोगले फागुन २५ गते राष्टपति निर्वाचनको मिति तोकेको छ । त्यसका लागि आज मनोनयनको मिति तोकेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको हो ।
मनोनयन दर्ता गर्न उम्मेदवारलाई वंशजको आधारमा लिएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको निस्सा तथा प्रस्तावक र समर्थकका रूपमा पाँच–पाँच सांसद आवश्यक पर्छ ।
योग्यता पुगेको कुनै पनि आममतदाताले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा १० मतदातालाई प्रस्तावक र समर्थक राखेर मनोनयन दर्ता गराउन सक्ने कानुनी व्यवस्था छ ।
राष्टपतिको उम्मेदवार हुन संसद हुनैपर्ने व्यवस्था छैन ।
निर्वाचनमा संघीय संसद् र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । उम्मेदवार हुन आममतदाता नामावलीमा नाम भए पुग्छ । तर, मनोनयन दर्ता गराउन राष्ट्रपति निर्वाचनको मतदाता प्रस्तावक र समर्थक हुनुपर्छ ।
निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार १० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता गरेर अपराह्न ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ ।
कहिले कहिले के के हुन्छ त ?
- १३ फागुन १० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता गरेर अपराह्न ४ बजे उम्मेदवारको सूची प्रकाशन
- १४ फागुनमा १० देखि २ बजेसम्म उम्मेदवारीको विरुद्धमा उजुरी दिने समय
- १५ फागुनमा दिउँसो २ बजेभित्र मनोनयन र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र ५ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गर्ने
- १६ फागुनमा बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन
- २५ फागुनमा १० देखि ३ बजेसम्म २ वटा मतदान केन्द्रबाट मतदान


