गोरखा । गोरखा अस्पतालले थाइराइड परिक्षण सेवा सुरु गरेको छ । सुविधा सम्पन्न अस्पताल निर्माण भए लगत्तै अस्पतालले नयाँ नयाँ सेवाहरु प्रारम्भ गर्ने क्रममा थाइराइडको परिक्षण सेवा सुरु गरेको हो ।
गोरखा अस्पतालले यो सेवा सुरु गरे लगत्तै बिरामीले जिल्ला बाहिर गएर परिक्षण गराउनु पर्ने बाध्यता हटेको अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘असार भित्रै सेवा दिने भएका थियौ । प्राविधिक हिसाबले काम सम्पन्न नभएका कारण भाद्र दोस्रो सातादेखी परिक्षण सेवा सुरु गरिएको’ सूचना अधिकारी ढकालले बताए ।
अस्पतालले अहिले साताको २ दिन मात्र थाइराइड परिक्षण गर्न थालेको छ । साताको मंगलबार र शुक्रबार गरेर २ दिन परिक्षण हुने गरेको छ । तर थाइराइड परिक्षणका लागि साताको सातै दिन रगत लिने काम भने भईरहेको पनि सूचना अधिकारी ढकालले जानकारी दिए ।
अस्पतालले उक्त परिक्षणका लागि ९०० रुपैयाँ शुल्क तोकेको छ । मंगलबार परिक्षण गरिएको रिर्पोट बुधबार र शुक्रबार गरिएको परिक्षणको रिर्पोट आइतबार बिरामीलाई बितरण गर्ने गरिएको छ ।
अस्पतालले थाइराइड परिक्षणकै लागि बिरामीलाई बाहिर जिल्ला पठाउदै आएकोमा अबदेखी त्यो समस्या हटेको अस्पताल प्रशासनले जनाएको छ ।


