गोरखा । शहिद लखन गाउँपालिकाले फोहोरमैला व्यवस्थापनका लागि विज्ञहरुसँग छलफल चलाएको छ । मनकामना फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा विज्ञ र्इ.ढुण्डीराज पाठकको टोलीसँग गाउँपालिकाले छलफल गरेको हो ।
कार्यक्रममा पालिका भित्रबाट निस्कने कुहिने तथा नकुहिने फोहोरको व्यवस्थापनबारे गहन छलफल भएको अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।
छलफलका क्रममा कुहिने फोहोरबाट मल बनाउन सक्ने तथा माकामनामा रहेको बोका र कुखुरा सरसफाई केन्द्रबाट निस्कने फोहर (लादी)बाट गोबर ग्यास प्लान्ट सञ्चालनमा ल्याउन सकिने बिषयमा छलफल भएको गाउँपालिकाले जनाएको छ ।
मनकामना बजार क्षेत्रबाट बढी नै फोहर निश्कने र अब्यवस्थित रुपमा फोहर फाल्दा मनकामना आउने पर्यटक र स्थानियलाई स्वास्थ्यमा असर पर्ने र पर्यावरणीय हिसाबले पनि नराम्रो देखिएको भन्दै फोहोरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सकिने बारेमा छलफल केन्द्रित भएको थियो ।
फोहोर व्यवस्थापनका लागि विज्ञहरुले स्थलगत अध्ययन पछि कार्ययोजना निमार्ण गरेर बजेट अभाव भएको खण्डमा संघ, प्रदेश वा कुनै संस्था सँग मिलेर काम गर्ने तर्फ पालिकाले कदम चालेको पनि अध्यक्ष थापामगरले जानकारी दिए ।
फोहोर व्यवस्थापनका लागि गाँउपालिकाको १२ लाख लगानीमा वडा नंम्बर २ स्थित काठे खोलामा ल्यान्ड फिल्ड साइड निर्माण भई सकेको पनि मनकामना फोहोरमैला व्यवस्थापन समितिका अध्यक्ष दिनेश जोशीले जानकारी दिए । जोशीका अनुसार अहिले त्यहाँसम्म जानको लागी मोटर बाटो निमार्ण भईसकेको र फोहोर बोक्ने ट्यक्टरको पनि व्यवस्थापन भई सकेको छ ।
मनकामना ‘बजारबाट निश्कने फोहोर २ नंम्बर वडा कार्यालयको वरपर डाँडामा अव्यवस्थित तरिकाले फालिदा मनकामना बजार नै अशोभनिय देखिएको थियो ।
छलफल कार्यक्रममा विज्ञ टोली प्रमुख पाठक, र्इ.नारायण रिजाल र विदुर लामिछाने, गाँउपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष लामिछाने, वडा नंम्बर २ र ३ का जनप्रतिनिधि र विभिन्न संघसंस्था तथा राजनीति दलका प्रतिनिधिहरु र सर्व साधारणहरुको पनि उपस्थिति रहेको थियो ।


