गोरखा । भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जारा ‘अक्कल’ले कार्यभार सम्हालेको १०० दिनको कार्यप्रगती आज सार्वजनीक गरेका छन् ।
कार्यभार सम्हालेको १०० दिनमा गरेका राम्रा कामहरुको गतिविधीलाई समेटेर आइतबार कार्यप्रगती सार्वजनिक गरेका हुन ।
पहिलो १०० दिनमा घर–घरमा पुगेर स्वास्थ्यकर्मीले २ हजार ६५६ जना जेष्ठ तथा अशक्त नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको तथा गाउँपालिका अध्यक्ष घरदैलो कार्यक्रम अन्तरगत अल्ट्रासाउण्ड मार्फत गर्भवती महिलालाई निःशुल्क एक्सरे सुविधा उपलब्ध गराएको कार्य प्रतगीमा समेटीएको छ ।
१०० दिनकै बिचमा विद्यालयमा अध्ययनरत किशोरीहरुलाई ६ हजार ३८५ थान सेनेटरी प्याड बितरण गरेको,बुढीगण्डकी आश्रममा मासिक स्वास्थ्य सेवा सुरु गर्न सफल भएको देखी ६८ वर्ष पुगेकालाई स्वास्थ्य बिमामा आवद्ध गराउन बिमा दर्ता सहभागी परिचालन र बैंकको सहयोगमा वडागत रुपमा सामाजिक सुरक्षा भत्ता बितरण गर्न सफल भएको कार्य प्रगती सुनाउदै अध्यक्ष बञ्जाराले जानकारी गराए ।
उनले कर्मचारीबिच कार्यसम्पादन करार सम्झौता भएको र घ्याम्पेशालको बिद्युत सव–स्टेशन निर्माणको विषयमा भएका समस्या समाधानकालागि पहल लिएको र सिप बिकासका तालिम संचालन गरेको पनि १०० दिनको कार्य प्रगतीमा समावेश गरेका छन् ।
यसै बिच कोरोना महामारीबाट प्रभावित ४५३ परिवारलाई प्रति परिवार १० हजारका दरले रकम उपलब्ध गराएको र रोटरी क्लब अफ गोरखाको सहयोगमा ४ थान ह्विल चियर बितरण गरेको तथा सडक छेउमा वृक्षारोपण गरिएको पनि कार्य प्रतगीमा समावेश गरिएको छ ।
पालिकाको आफ्नै भवनमा सार्वजनिक गरिएको कार्यप्रगती सार्वजनिकीकरण कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, राजनैतिक दलका प्रतिनिधी र कार्य पालिका सदस्यका साथै पालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।




















