गोरखा । गोरखा नगरपालिकासंग भगिनी सम्बन्ध कायम रहेको बेलायतको रसमोर बरो काउन्सिलको टोली आज नेपाल आइपुगेको छ ।
टोलीलाई बिहान ८ः०० बजे गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकाल लगायतले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाण्डौंमा स्वागत गरिएको हो ।
बेलायती टोलीमा डेपुटी काउन्सिल लिडर मरिस सिहान र काउन्सीलर बेलबासे मितेरी लगायत ५ जना रहेका छन् ।
गोरखाको ५ दिने भ्रमणका लागि नेपाल आएको बेलायती प्रतिनिधिमन्डलको टोलीले गोरखा नगरपालिकाले गरेको स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, प्रशासन लगायतका विविध पक्षको अवलोकन गर्नुका साथै अनुभव आदानप्रदान पनि गर्ने कार्यक्रम रहेको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
टोलीले नगरपालिका भित्रका ऐतिहासिक स्थल गोरखा दरबार, गोरखा संग्राहलय सहितका सांस्कृतिक, पर्यटकिय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको गोरखा नगरपालिकाले जनाएको छ ।
प्रतिनिधिमन्डलको नेतृत्व डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका छन् । प्रतिनिधी मण्डलमा रसमोर बरो काउन्सिलका काउन्सीलर जीव बेल्वासे ,डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्ड रु क्लोभरका, श्रीमती अमृता बेल्वासे र इज्जी सिहान सहभागी छन् ।
टोलीलाई गोरखा आए लगत्तै भोली साँझ सदरमुकाममा रात्रीकालिन भोज र शनिबार बिहान विभिन्न सरोकार वालाहरु संग छलफल र चियापान कार्यक्रम समेत गखिएको छ । ३ वर्षअघि गोरखा नगरपालिकाले रसमोर बरो काउन्सिलसंग मितेरी सम्बन्ध गाँसेको थियो ।
दुवै नगरपालिका बिचको मितेरी सम्बन्धलाई थप मजबुद बनाउने उद्धेश्यले रसमोर बरो काउन्सिलको टोली नेपाल आइपुगेको हो ।


