गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज भड्किलो र खर्चिलो गरेर नमनाउन आग्रह गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा तडक भडक सहित खर्चिला कार्यक्रम हुने गरेको पाइएकाले त्यस्तो नगर्न नगराउन अनुरोध गरेको हो ।
यस वर्षको हरितालिका तिज भदौ १४ गते परेको छ । तर तीज आउनु अगावै विभिन्न कार्यक्रमको बहानामा दर खाने कार्यक्रम गरेर महंगा कार्यक्रम गरेको भन्दै प्रशासनले सूचना जारी गरेर त्यस्तो नगर्न भनेको हो ।
परम्परा, रिति रिवाजलाई निरन्तरता दिने तथा सम्बर्दन गर्ने बाहेक अन्य कुनैपनि खालका खर्चिला, महँगा तिजसंग सम्बन्धित कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्धारा जारी सुचनामा यस्ता काममा सघाउन राजनीतिक दल, सामाजिक संघसंस्था,नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण जिल्लाबासीलाई अनुरोध समेत गरेको छ ।
भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम गरेर गराएमा कानुन बामोजिम कारवाही गरीने पनि सूचनामा भनिएको छ ।



