गोरखा । गोरखामा आजबाट ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाको चुमनुव्री गाउँपालिका बाहेकका १० वटा पालिकाहरुका बिधालयमा खोप केन्द्र स्थापना गरी कोरोना बिरुद्धको फाइजर बायोएनटेक खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
अभियान अन्तरर्गत १० पालिमा २८ हजार १८ जना बालबालिकाहरुलाई कोराना बिरुद्धको खोप लगाउने लक्ष्य कार्यालयले राखेको जन स्वास्थ्य निरिक्षक नानीबावु दानीले जानकारी दिए ।
स्थानिय तहले कार्यालयलाई पठाएको रेकर्ड अनुसार बिधालय भित्र रहेका २७ हजार ६१३ जना र बिधालय बाहिर रहेका ४०५ जना बालबालिकाहरुलाई यो अवधीमा खोप लगाउने लक्ष्य राखिएको हो ।
केन्द्रीय कार्यक्रम अनुसार ९ गतेभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेपछि कार्यालयले भने जिल्लामा ८ गते भित्र खोप लगाई सक्ने गरी कार्यक्रम तय गरेको जनाएको छ । खोप अभियानमा सहभागी हुनका लागि परिवारका अभिभावकहरुले उमेरको स्वघोषणा गरेको भएपनि हुने जनस्वास्थ्य निरीक्षक दानीले बताए ।
बालबालिकाहरुलाई दिइने फाइजर बायोएनटेक खोप रोग प्रतिरोधात्मक क्षमता कम भएका, दिर्घरोगी तथा कोरोना संक्रमण भएको ३० दिन नकटेकाहरुलाई लगाउन नहुने कार्यालयले जानकारी दिएको छ ।बालबालिकाहरुले पुनः दोस्रो डोजको खोप २१ दिन पछि अनिबार्य लगाउनु पर्ने छ ।




















