गोरखा । गोरखा सदरमुकाममा असोज ४ गतेदेखी तेस्रो गोरखकाली मेला हुने भएको छ । हरमटारी क्लबको आयोजनामा गोरखा नगरपालिका–६ को खेलकुद मैदानमा असोज ४ गतेदेखी १४ गतेसम्म मेला हुने भएको हो ।
क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘गोरखाको संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक अभियान’ भन्ने नारा सहित पृथक ढङले मेलाको आयोजना गर्न लार्गिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।
गोरखाको मुख्य पहिचानको खोजी गरी जिल्लाको चिनारीको प्रचार प्रसार गर्नुका साथै जिल्लामा बसोबास गर्ने जातजाती, संस्कृति, भेषभुषा र भाषाको संरक्षण एवम जगेर्ना गर्ने तथा जिल्लालाई पर्यटकी हब बनाउने लक्ष्यसहित मेला आयोजना गरिएको मेलाका संयोजक आशीष श्रेष्ठले बताए ।
उनका अनुसार मेलामा बिरता र एकता झल्कने कार्यक्रम लोपोन्मुख सांस्कृतिक कार्यक्रमको प्रस्तुती, औद्योगीक प्रदर्शनी, खाना महोत्सव, कन्सर्ट कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् ।
मेलामा जिल्लाका ११ वटै स्थानीय तहको पहिचान सहितको सांस्कृतिक झाँकी प्रदर्शन गर्ने महासचिव ढकालले पत्रकार सम्मेलनमा जानकारी गराए ।
मेलामा कृषि, शिक्षा, स्वास्थ्य, खाना, पर्यटन, स्थानीय उत्पादन, ब्यापारीक सहित ९० देखी १०० हाराहारीको स्टल रहने आयोजकले जनाएको जानकारी गराएको थियो ।
मेला अबधीभर पर्यटकलाई दरबारदेखी दरबार सम्म भन्ने पदयात्रा को आयोजना समेत हुने भएको छ । उक्त पदयात्रा गोरखा दरर्बारबाट सुरु भएर सतिपिपल, बिसेनगर्ची सालिक, राम शाह चौतारा, पस्लाङ हुदै तल्लो दरबार (गोरखा संग्रालय) सम्म पदयात्रा गर्ने र पदयात्रीलाई गाइडको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।
मेलामा करीब ३५ हजारले अबलोकन गर्ने आयोजकको अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, गोरखा नगरपालिका ६ को कार्यालयको अनुमतिमा नै खेलमैदानमा मेला आयोजना गर्न लागिएको आयोजक क्लबले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
मेलामा करीब ५२ लाख ५० हजार आम्दानी र ४७ लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बचत भएको रकमले खेलमैदान मर्मत सम्भार, खेलाडीको क्षमता अभिबृद्धि गर्नुका साथै सातौं गोरखकाली रनीङ कप फुटवल प्रतियोगिता आयोजना गरिने पनि आयोजकले जनाएको छ ।


