गोरखा । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि गोरखाले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ४ बुँदे माग बुझाएको छ ।
माग पत्रमा २०७७ फागुन २१ गते सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुदेँ सहमति कार्यान्वयन गर्न जोडदार माग गरिएको छ । त्यस्तै सहमतीको बुँदा नम्बर ३ मा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, कारगारमा रहेका पार्टीका नेता तथा कार्याकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्ने सहमती भए अनुसार कार्यन्वयन गर्नुपर्नेमा उल्टै पार्टीका महासचिव बिप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य बिषम लगायतका नेता कार्यकर्ता माथि पक्राउ पुर्जी जारी गरिएको भन्दै कडा आपत्ती जनाइएको छ ।
साउन १६ गते ललितपुर जिल्ला अदालत मार्फत जारी गरिएको पक्राउ पुर्जी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुदेँ सहमतिको बिरुद्धमा भएको भन्दै माग पत्रमा उत्त कार्य निकै खेद जनक, षडयन्त्रमुलक र मुलकलाई जवरजस्ती द्धन्दमा धकेल्ने नियोजित मनासय रहेको उल्लेख गरिएको छ ।
त्यस्तै एमसिसी सम्झौता र एमपिपि परियोजनाले नेपालको राष्ट्रिय स्वाधिनता माथिको अमेरिकी सामराज्यबादको सिधै हस्तक्षेप भएको भन्दै उक्त सम्झौता तथा परियोजना खारेजी गर्न पनि नेकपाले माग गरेको छ ।
पछिल्लो समय देशमा चरम मूल्यबृद्धि र भ्रष्टाचारको दलदलमा फसेको भन्दै चर्को मूल्यबृद्धिका कारण जनताको जीवन कष्टकर बन्दै गएकाले तत्काल भ्रष्टाचार रोक्न र असिमित रुपमा बढीरहेको मूल्य बृद्धि नियन्त्रण गर्नु पर्ने माग सो पार्टीले गरेको छ ।
बिगतमा भएका असमान सन्धीसम्झौताका कारण नेपालमा बिदेशी हस्तक्षेप बढेको त्यस्ता सवै असमान सन्धी सम्झौताहरु खारेजी गर्नुपर्ने माग पनि मागपत्रमा राखिएको छ ।
मागपत्र बुझदै प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले मागपत्र सम्बन्धित निकायसम्म तत्काल पठाइदिने प्रतिबद्धता व्यक्त गरे ।

मागपत्र बुझाए लगत्तै प्रसासन कार्यालय अगाडी आयोजित कोणसभालाई सम्बोधन गर्नुहुदै जिल्ला सेक्रेटरी कपिल भट्टले आफुहरुको माग सम्बोधन नभए सर्घषमा उत्रने चेतावनी दिए । उनले राज्यले सम्झौता गर्ने र सम्झौताको पालना नगर्ने परिपाटीले जनतासंगको बिस्वास गुमाउदै गएको भन्दै पार्टीको तर्फबाट प्रस्तुत गरिएका मागहरुलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोडदिए ।
जिल्ला सेक्रेटरी भट्टले भदौं ३ गतेसम्म पनि माग पुरा नभए भदौ ४ गते कोणसभा, ६ मसाल जुलुस र ७ गते नेपालबन्द गर्ने घोषणा समेत गरे ।





















