गोरखा । उत्तरी गोरखामा स्थापना हुने बिओपीका लागि २० रोपनी जमिन दिने निर्णय भएको छ । चुमनुब्री गाउँपालिका १ को साम्दोमा सिमा सुरक्षा पोष्ट (बिओपी) स्थापनाको लागि सशत्र प्रहरी बल नेपालको लागि २० रोपनी जमिन उपलब्ध गराउने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखामा सोमबार बसेको बैठकले सार्वजनिक प्रकृतिको जग्गा उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए । उनका अनुसार पोष्ट स्थापनाको लागि आवश्यक ब्यवस्थाको लागि सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्वन्धी मापदण्ड, २०७७ को दफा १० मा उल्लेखित भए अनुसारको सिफारीस समितिमा सिफारीसको लागि लेखी पाउने निर्णय भएको छ ।
सशत्र प्रहरी बललाई चुमनुब्री गाउँपालिका–१ को साम्दोमा रहेको सिट नं.०८९–०९३०, कित्ता नम्बर २८९ रहेको साम्दोमा अवस्थित १७५८ रोपनी ५ आना २ पैसा २ दाम मध्ये २० रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको हो ।
सोमबार भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृण्ण रानामगर, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिण्णुप्रसाद भट्ट, राष्ट्रिय अनुसन्धान गोरखाका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी, रिपु मर्दन गणका सेनानी प्रकाश परियार, सशत्र प्रहरी बल गोरखाका सहाय प्रहरी नायव उपरिक्षक सुजित बिष्ट, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछाने, नेपपा एसका जिल्ला अध्यक्ष यादवबहादुर बस्नेत, नेपाली काँग्रेसका सचिव कृण्णबहादुर आले, मंगोल नेशनल अर्गनाइजेसन गोरखाका सचिव नबिन घले, नेकपा एमालेका कार्यालय सचिव खिलनाथ सिंखडाका साथै विभिन्न गाउँपालिका प्रमुख तथा प्रतिनिधी र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।



