गोरखा । गोरखामा आज ४ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ५४ जनामा संक्रमण पुष्टी भएको छ । गोरखा अस्पताल, पालुङटार नगरपालिका र भीमसेन थापा तथा अजिरकोट गाउँपालिकामा गरि २९० जनामा गरिएको परिक्षणमा ५४ जनामा संक्रमण देखिएको हो ।
आज सबै भन्दा बढी भीमसेन थापा गाउँपालिकामा देखिएको छ । जहाँ ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए । अर्यालका अनुसार उक्त पालिकाको ५ स्कुलमा गरिएको परिक्षण क्रममा बिद्यार्थी र शिक्षकमा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा १० जना महिला र ५ जना पुरुष मध्ये २ जना महिलामा पोजेटिभ देखिएको छ । पालुङटार नगरपालिकामा ८ जना महिला र ४ जना पुरुषमा गरिएको परिक्षणका क्रममा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी, अजिरकोट गाउँपालिकामा १३ जना महिला र ८ जना पुरुषमा गरिएको एन्टिजेन परक्षणका क्रममा ७ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।
सोमबार १४१ जना महिला र १५० जना पुरुषको एन्टिजेन परिक्षण गर्दा २४ जना महिला र ३० जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका अनुसार ०७९ साल साउन १ गते यता ६३७ जनाको एन्टिजेन परिक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको छ । जस मध्ये ५८ जनाले कोरोना जित्न सफल भएका छन् ।
सोमबारसम्म जिल्लाको विभिन्न स्थानिय तहमा ८३ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।



