गोरखा । जिल्लाको चुमनुब्री बाहेक १० स्थानिय तहका २८ हजार १८ जनाबालबालिकालाई केही दिन भित्रै कोरोना बिरुद्वको खोप दिने तयारी गरिएको छ । ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई यही भदौ ५ गतेदेखि खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
उक्त उमेर समूहका बालबालिकाहरुलाई भदौ ५ गतेदेखि ८ गतेसम्म बिधालयमा नै खोप केन्द्र बनाएर खोप दिन लागिएको कार्यालयका जन स्वास्थ्य निरिक्षक नानीबावु दानीले बताए । आवश्यक खोप कार्यालयमा प्राप्त भई सकेको भन्दै ति पालिकाहरुमा खोप पठाउने अन्तिम तयारी पनि पुरा भएको निरिक्षक दानीले जानकारी दिए ।
बालबालिकाहरुलाई फाइजर–बायोएनटेक नामको खोप दिन लागिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ । बिद्यालयमा अध्ययन गर्दै गरेका २७ हजार ६१३ जना र बिद्यालय बाहिर रहेका ४०५ जना सहित २८ हजार १८ जना बालबालिकालाई खोप दिन लागिएको हो ।
१० स्थानिय तहमा ३९७ बिद्यालय र ५० वेडसम्म भएका अस्पताल सहितको खोप केन्द्र स्थापना गरिएको छ । उक्त समयमा ७९४ जना स्वास्थ्यकर्मी खोप लगाउन खटिने पनि कार्यालयले जनाएको छ ।
२७ जिल्लामा सञ्चालनमा आईसकेकाे खोपको कुनै असर नभएको भन्दै कार्यालयले जिल्ला भित्र रहेका सबै बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरेको छ । यो खोप लगाएको २१ दिन भित्रै दोस्रो डोजको खोप लगाउनु पर्ने छ ।


