सन्दर्भ तस्बिर
काठमाण्डौं । चिनियाँ र नेपाली नागरिकलाई अपहरण गरी शरीर बन्धक बनाएको कसूरमा संलग्न रहेको अभियोगमा गोरखाका कर्णबहादुर गुरुङ र लक्ष्मण गुरुङ सहित ६ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका–७ आरुपोखरी घर भएका ३७ वर्षीय कर्णबहादुर गुरुङ, काठमाण्डौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ, काठमाण्डौं मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी नगरपालिका–११ घर भएका २९ वर्षीय रोहित मगर, काठमाण्डौं मित्रनगर बस्ने प्यूठान जिल्ला प्यूठान नगरपालिका–८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा काठमाण्डौं बानियाँटार बस्ने नुवाकोट शिबपुरी गाउँपालिका–६ पालथोक घर भएका २७ वर्षीय बिनोद केसी र काठमाण्डौं बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिब सुनार रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौंले जानकारी दिएको छ ।
काठमाण्डौं कपुरधारास्थित सडकबाट बनस्थली बस्ने ओखलढुङ्गा चिसाङ्खुगढी गाउँपालिका–५ चिसापानी घर भएका १ जना नेपाली नागरिक र काठमाण्डौं लाजिम्पाटस्थित खरेलटोलबाट १ जना चिनियाँ नागरिक समेत गरी २ जनालाई उनीहरुले अपहरण गरेर बन्धक बनाएका थिए ।
बन्दक बनाएका चिनियाँ नागरिकलाई सुरक्षित साथ फिर्ता लैजाने भए १ करोड नगद लिएर आउन भने पछि जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरीको टोलीले प्रहरी वृत्त दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी तिब्र बनाएको थियो । घटना लगत्तै दुवै जनालाई काठमाण्डौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजमा फेला पारी सकुसल उद्दार गरेको पनि प्रहरीले जानकारी दिएको छ ।
अपहरणमा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


