गोरखा । गण्डकी प्रदेशका तत्कालीन भौतिकमन्त्री रामशरण बस्नेतले आफ्नो बेशी खेतमा जानका लागि राज्यको ठुलो रकम खर्चेर पक्की पुल निर्माण गरेको खुलाशा भएको छ ।
गोरखाको दरौंदी नदी माथी बनेको उक्त पुल गोरखा नगरपालिका ३ र सिरानचोक गाउँपालिका ५ को जरेबरलाई जोडने गर्दछ । तर पुल बनेको वरपर केबल खेतीयोग्य जमिन बाहेक बाटोको नामोनिशान छैन ।
मन्त्री हुदा ब्यक्तिगत स्वार्थले आफुलाई सजिलो हुने गरी बनाएको उक्त पुल अहिले ‘नखाउ भने दिनभरीको शिकार खाउ भने कान्छा बाऊको अनुहार’ भने जस्तै भएको छ । जंगल र खेतको बिचमा बनेको यो पुलका लागि बस्नेत मन्त्री हुदा ५ करोड भन्दा बढी खर्चिएर निर्माण गराएका थिए ।
तत्कालीन मन्त्री बस्नेतले सत्ता र शक्तिको दुरुपयोग गर्दै सडक नै नभएको ठाउँमा ५० मिटरको पुल बनाएन ५ करोड ३९ लाख ८० हजार खर्चिएका छन् ।
पुल एचटीसी, गोसाइँकुण्ड, आइएस निर्माण सेवा जेभीले निर्माण सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय गोरखाका सूचना अधिकारी अजय श्रेष्ठले जानकारी दिए ।
गोरखा नगरपालिका ३ नारेश्वरको घलाङ निवासी बस्नेतको वेशी खेत पुल संगै छ । सडक नै नभएको स्थानमा पुल बनाएको भन्दै स्थानीयवासीले आलोचना गरेका छन् ।




















