गोरखा । गोरखामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको जिल्ला कमिटिले सम्मान गरेको छ । जिल्ला कमिटिले सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गोरखामा एमालेबाट ५१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा १० जना वडाध्यक्ष र अन्य ४१ जना वडा सदस्य रहेको जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए ।
जनप्रतिनिधिहरुलाई सम्मान गर्दै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जनताको मत जितेर काम गर्न आग्रह गरिन । ‘नेकपा एमालेमाथि अहिले चारैतिरबाट हमला भैरहेको छ गठवन्धनले त झन् एमाले सिध्याउनै चाहेको छ’ उनले जनप्रतिनिधिलाई भनिन, ‘यस्तो विषम अवस्थामा स्थानीय तह निर्वाचनमा गोरखामा प्राप्त उपलब्धी सन्तोषजनक छ, यसलाई बचाउने र बढाउने गरि काम गर्नुहोला ।’
कार्यक्रममा जनता समाजवादी पार्टीका गोरखा जिल्ला सदस्य केशव पन्त नेकपा एमालेमा प्रवेश गरेका थिए ।


