गोरखा । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रियताको सवालमा पाँचदलीय गठवन्धनले अपराधनै गरेको आरोप लगाइन । गठवन्धनकै कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा पुगेको पनि उनले बताइन ।
नेकपा एमाले जिल्ला कमिटि गोरखाले जिल्ला सदरमुकाममा गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भनिन, ‘छिमेकी देश चीन शक्तिशाली हुँदै गएकोमा अमेरिकालाई टाउको दुखेको बेला एमसिसिका नाममा अमेरिकालाई चीन विरुद्ध खेल्न आमन्त्रण गरिएको छ ।’
प्रशिक्षण कार्यक्रममा वर्तमान राजनीतिक शक्ति सन्तुलन र पार्टीको भूमीका अभिवृद्धि विषयमा बोल्दै शाक्यले देशको आन्तरिक राष्ट्रियतामाथि पनि गठवन्धन सरकारले खेलवाड गरेको आरोप लगाईन । ‘केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक सहितका भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक ग¥यो, जमिन फिर्ता लिने प्रक्रिया चलिरहेकै थियो’ उनले प्रश्न गरे, ‘तर अहिले प्रधानमन्त्री कार्यालयले प्रकाशन गरेको पुस्तकमा पुरानै नक्सा छ, यो के हो ?’
उपाध्यक्ष शाक्यले गठवन्धन सरकारलाई कुनै पनि हालतमा हटाउनु पर्ने भन्दै उनीहरुका खराब पक्ष पर्दाफास हुँदै गएमा ढिलो चाँडो गठवन्धन आफैं भत्किने बताइन ।
नेपालमा कम्युनिष्टहरुलाई स्थापित हुन नदिने चलखेल हुँदै आएको उनको भनाई छ । ‘तर वामपन्थी आन्दोलन कमजोर बनाउने वातावरण हामीलेनै दिएको हो’ उहाँले भन्नुभयो, ‘नेतृत्वमा स्वार्थ, गुट, अराजकता बढ्न थाल्यो । समाजवादमा पुग्ने बाटो बिर्सिन थालियो ।’
प्रशिक्षण कार्यक्रममा नेकपा एमालेकी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनताको बहुदलीय जनवादका मान्यताको आधारमा पार्टी निर्माण र परिचालन, पोलिटब्युरो सदस्य एवम् साँसद मनकुमारी केसीले स्थानीय तह निर्वाचनको सिकाई र आगामी निर्वाचनको तयारी, केन्द्रिय सदस्य रामशरण वस्नेतले संगठनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन एवम् गण्डकी प्रदेश कमिटि उपसचिव रश्मी अचार्यले जनप्रतिनिधि र पार्टी विचको सम्वन्धका विषयमा प्रशिक्षण दिएका थिए ।




















