सन्दर्भ तस्बिर
गोरखा । भच्चेकको भाइरल रोडमा आज बिहान भएको सवारी दुर्घटनाम परी १ जना महिलाको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका ३ को नम्मकीमा रहेको भाईरल रोडमा बोलेरोको ठक्करबाट अजिरकोट २ वलाङ निवासी २३ बर्षिया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नम्मकीबाट भच्चेक बजार तर्फ आउदै गरेको प्र ३–०३ प ४८१५ नम्बरको मोटरसाइकल भाइरल रोडको मोडमा एक्कासी ब्रेक लगाउदा सोही मोटर साइकलमा सवार गुरुङलाई भच्चेक बजारबाट नम्मकी तर्फ जादै गरेको ग. १ ज ४८८६ नम्बरको बलेरो जिपले ठक्कर दिएको थियो ।
ठक्करबाट गंभिर घाईते भएकी गुरुङको भच्चेक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
घटना सोमबार बिहान ९ बजे भएको थियो । घटना लगत्तै घाइतेलाई स्वास्थ्य चौकी लगिएको थियो ।
प्रहरीका अनुसार मोडमा जिपले साइड च्यापेर आए पछि एक्कासी ब्रेक लगाएको र मोटर साइकल चालक नालीमा खसेको थियो । सोही मोटर साइकलमा सवार गुरुङ भने सडकमा लडन पुग्दा बोलेरोले ठक्कर दिएको थियो ।




















