मुग्लिन । मनकामना केबुलकारको भाडादरमा परिवर्तन गरिएको छ । बजारभाउ उच्च भएको भन्दै भाडादरमा परिवर्तन गरिएको केवुलकार प्रशासनले जनाएको छ । परिवर्तित भाडादर साउन १ गतेदेखी लागु भएको हो ।
मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलुकारले ४ वर्ष पछि भाडादरमा परिवर्तन गरेको हो । बढ्दो बजार भाउ, तलब वृद्वि र विश्व बजारलाइ ध्यानमा राखेर टिकटमा केही प्रतिशत वृद्वि गरेको मनकामना केवलकारका नायव महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए । उनका अनुसार टिकटदरमा ४ प्रतिशतसम्म भाडादर बृद्वि गरिएको छ ।
हाल नयाँ टिकटदर अनुसार नेपाली नागरिकलाई दुईतर्फी आवत जावतमा ७०० रुपैयाँ कायम गरिएको छ भने नेपाली बच्चाहरुको लागि ४२० र बिद्यार्थीहरुलाई ५२५ कायम गरिएको छ ।
त्यस्तै गरी, जेष्ठ नागरिक ४९०, फरक क्षमता भएकाहरुका लागि ३५० कायम गरिएको पनि केवुलबार प्रशासनले जनाएको छ ।
यता भारतीय नागरिकहरुलाई ८००, भारत बाहेक सार्क राष्ट्र र चाईनिज नागरिकका लागि १० डलर, उनीहरुको बच्चाको लागि ६ डलर कायम गरिएको छ भने अन्य बिदेशी नागरिकहरुलाई २० डलर र उनीहरको बच्चाको लागि ११ डलर र मन्दिरमा बलीका लागि लाने बोकाको लागि २४० रुपैयाँ भाडादर कायम गरिएको छ ।



