गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र पालुङटार नगरपालिकाका प्रमुख बिबश चिन्तन बिच भेट बार्ता भएको छ । भेटमा पालुङटार नगरपालिकाको समग्र बिकासको बारेमा छलफल केन्द्रित भएको प्रमुख चिन्तनले जनाएका छन् ।
उपप्रमुख बन्दना पाण्डेसंगै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका प्रमुख चिन्तनले पालुङटार नगर भित्र बर्षेनी बाढी र पहिरोबाट क्षति हुने गरेको स्मरण गराउदै पालुङटार नगरपालिकाको दिर्घकालिन समस्या समाधानका लागि केन्द्रको तर्फबाट आबश्यक पहल गरिदिन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
भेटमा प्रमुख चिन्तनले गएको आर्थिक बर्षदेखि नै त्यस क्षेत्रमा बाढी नियन्त्रणका लागि काम सुरु भइसकेको भएपनि पर्याप्त बजेटको अभावमा काममा समस्या हुदै आएको जानकारी गराएका थिए ।
उनले पालुङटार नगरपालिकालाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने चर्चा भएपनि काम सुरु हुनु नसकेको भन्दै अध्यक्ष दाहालको ध्यानकर्षण गराउदै जिल्लाकै एक मात्र पालुङटार एयरपोर्टको मर्मत, स्तरोन्नती तथा सञ्चालनका प्रक्रियालाई पनि संघिय सरकारलाई घचघचाउन आग्रह गरेका थिए ।
भेटमा अध्यक्ष दाहालले पालुङटार नगरपालिकाको समग्र बिकासका लागि आबश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उप प्रमुख बन्दना पाण्डेले जानकारी दिए ।


