गोरखा । जेष्ठ अन्तिम साता चट्याङ लागेर बन्द भएको गोरखा सदरमुकाम क्षेत्रको सिसी क्यामेरा मर्मत लगत्तै सञ्चालनमा आएको छ । मर्मत पछि सदरमुकाम क्षेत्रमा रहेका मध्ये ६४ वटा क्यामरा पुनः सञ्चालनमा आएको सामुदायिक सेवा केन्द्र गोरखाले जनाएको छ ।
गोरखा नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, १० र १३ मा सामुदायिक सेवा केन्द्रले ७५ वटा सिसी क्यामेरा जडान गरेको अध्यक्ष सुशिलबावु श्रेष्ठले जानकारी दिए । सञ्चालनको ५ बर्ष पछि गएको जेष्ठ अन्तिम साता गोरखा सदरमुकाममा परेको चट्याङका कारण पुरै क्यामेरा अबरुद्व भएको थियो ।
मर्मतका लागि आर्थिक अभाव भए पछि गोरखा नगरपालिका संग सहयोग मागेर मर्मत गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । अहिले गोरखा सदरमुकाम क्षेत्र मध्ये खोलखोले, चाइनिज धारा, पेट्रोल पम्प, हरमटारी, कालिमाटी बजार, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, बतासेको पुरै क्यामेरा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।
त्यस बाहेक पनि विपी चोक, धारापानाी, रोहटेपानी देखी चिल्ड्र्न पार्क, रानी पोखरी परिषर, ठुलो आँगन, तिनधारे, गणेशपाटन, पाटेचौर, बोसेपानी धारा, गोरखा अस्पताल र घ्याम्पेशाल चोक पुरैको क्यामेरा सञ्चालनमा आएको प्रउ खनालले जानकारी दिए ।
बाँकी क्षेत्र मध्ये गोरखा अस्पतालदेखी बराह दुहै माथिल्लो खोलखोले क्षेत्रको क्यामेरा सञ्चालनमा आउन बाँकी रहेको छ । उक्त क्षेत्रमा सडक बिस्तारका क्रममा फाइवर र पावर केबल क्षतविक्षत भएको र नयाँ तार फेर्नुपर्ने कारण केही दिन ढिला भएको पनि सामुदायिक सेवा केन्द्रले जनाएको छ । सो क्षेत्रमा रहेको केही क्यामेरा समेत चोरी भएको पनि केन्द्रले जनाएको छ ।
मर्मत संभार संगै चोरी भएको क्यामेरा र चट्याङ लागेर कामै नलाग्ने क्यामेरा समेत फेरीएको छ । प्रहरीलाई अपराध अनुसन्धानलाई सहजता होस भन्दै केन्द्रले बर्षेनी विभिन्न दाता संग पैसा संकलन गरेर सडक वरपर क्यामेरा जडान गर्दै आएको छ ।
मर्मत पनि क्यामेरा सञ्चालनमा आएसंगै बजार क्षेत्रमा हुनसक्ने अपराध अनुसन्धानमा गोरखा प्रहरीले अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न टेवा पुग्ने विश्वास लिएको प्रउ खनालले बताए ।
मर्मतकाे काम केन्द्रले सन टेक्नाेलाेजी मार्फत गराइरहेकाे छ ।




