गोरखा । गोरखा नगरपालिकामा आजदेखि बिपत व्यवस्थापन सम्बन्धी नमुना अभ्यास, छलफल तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
सदरमुकाममा सुरु भएको उक्क कार्यक्रम २ दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले बिपत व्यवस्थापनका लागि स्थानीय सरकार सवल र सक्षम हुनुपर्नेमा जोडदिए । उनले हरेक स्थानीय तहहरुले बिपतको पूर्व तयारी गर्नुपर्ने बताउदै तयारीले प्रकोप रोक्न नसकेपनि क्षतिको न्यनिकरण गर्न सकिने बताए ।
उनले बिकासको बहानामा हुने अव्यवस्थित र असुरिक्षता बिकासले बिपत निम्तिने गरेको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका उप प्रमुख लिला परियारले बिपत जुन बेला आउछ त्यही बेला तयारी गरौला भन्ने बिषय नभएको बताइन ।
कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यष कृष्णकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाका अध्यक्ष यदुबिलास भट्टराई, गैह्रसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ लगायतले आ–आफ्नो धारणा व्यक्त राखेका थिए ।
गोरखा नगरपालिका गोरखाका प्रमुख कृष्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी उप प्रमुख मसली मायाँ थोकर पुनः, प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकाल लगायतको सहभागिता रहेको थियो ।
बुधबारसम्म चल्ने कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले बिपत सम्बन्धी नमुनाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको गोरखा नगरपालिकाले जनाएको छ ।




















