सन्दर्भ तस्बिर
गोरखा । सिरानचोक गाउँपालिकामा प्रहरीलाई कुट्ने २ शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवैलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्वा दर्ता गरी अनुसन्धान थालेको छ ।
मादक पदार्थ सेवन गरेर प्रहरीलाई कुट्ने सिरानचोक गाउँपालिका ४ छोप्राक जैसिथोक रामशरण पोखरेल र रामेश्वर पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुवैजना उपर आइतबार नै जिल्ला प्रशासन कार्यालय गोरखामा सार्वजनिक मुद्वा दर्ता भएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
शनिबार साँझ मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा घर जादै गरेका पोखरेल द्वय दुर्घटनामा परेको जानकारी पाए पछि उद्वारका लागि गएका २ जना प्रहरी कर्मचारी माथीहरुले हातपात गरेका थिए । दुर्घटना चोरकाटे बजार नजिकै भएको थियो ।
मापसे गरेका कारण मोटरसाइकल नलानुस भन्दा उनीहरुले प्रहरी माथि आक्रमण गरेका थिए भने जबरजस्ती मोटरसाइकल लिएर भाग्दा पुनः अलि माथि पुगेर प्रहरी माथि ढुङा प्रहार गर्दा प्रहरी हवल्दार अर्जुनबहादुर सेन र प्रहरी जवान अनन्तबहादुर रोका घाईते भएका थिए ।
घाईते मध्ये रोकाको अवस्था गंभिर भएका कारण गोरखा अस्पतालमा सामान्य उपचार लगत्तै शनिबार साँझ नै चितवन रिफर गरिएको गोरखा अस्पताल प्रशासनले जनाएको छ । रोकाको टाउकोको विभिन्न भागमा चोट लागेको गोरखा प्रहरीले जनाएको छ ।
प्रहरी आक्रमणमा संलग्न पोखरेल द्वय सहोदर दाजु भाई हुन । नेपाली काँग्रेस समर्थित नेपाल शिक्षक संघमा आवद्व रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य माविका शिक्षक हुन् ।


