गोरखा । जिल्लाकै जेठो मानिएको त्रिभुवन पुस्तकालय हालै पुनःनिर्माण भएको छ । ०७२ सालमा आएको ‘गोरखा भूकम्प’ले क्षतिग्रस्त पुस्तकालय स्थानीयबासीको सक्रियतामा पुनःर्निर्माण भएको हो ।
गोरखा नगरपालिका ६ को तीनधारेमा रहेको पुस्तकालय भवन पुनःनिर्माण भए संगै तिने तले भवनमा परिणत भएको छ । पुनःनिर्माण भएको भवनको हालै एक कार्यक्रम बिच गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले उद्घाटन गरेका हुन् ।
२००८ सालमा स्थापना भएको पुस्तकालय भवनको लागि ४८ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए । करिब २ दशकदेखी बन्द रहेको भवनलाई भूकम्पले क्षति पुरयाएको थियो ।
भवन पुनःर्निर्माणको लागि गोरखा नगरपालिकाले २३ लाख, लक्ष्मणबावु श्रेष्ठ स्मृती काेष बाट १० लाख, बिनयबावु श्रेष्ठ १० लाख, अशोकबावु श्रेष्ठले ५ लाख, भवन निर्माण समितिका अध्यक्ष स्वयं मोहनलाल श्रेष्ठले ५ लाख प्रदान गरेका थिए । यो बाहेक पनि केही संघ संस्थाले रकम बोलेको र उठन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले नयाँ भवन बनेपनि पुस्तक अभाव रहेको भन्दै दाताहरुबाट पुस्तकको अपेक्षा गरिएको बताए । अध्यक्ष श्रेष्ठले सामाजिक संञ्जालको कुलतबाट बचाउन पनि पुस्तकालय सञ्चालनमा ल्याइएको बताए ।
उदघाट्न पछि गोरखा नगरपालिकाका प्रमुख रानामगरले पुस्तकालय संचालन गर्न आवश्यक सहयोग गर्ने बचन दिए ।
०७७ सालदेखी निर्माण थालिएको पुस्तकालय भवन हालै सम्पन्न भएपछि उदघाट्न गरिएको थियो । पुरानाे पुस्तकालय लक्ष्मणबावु श्रेष्ठकाे सक्रियतामा निर्माण भएकाे थियाे ।


