सन्दर्भ तस्बिर
गोरखा । जिल्लामा आइतबारदेखी आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असार १९ गतेदेखी जिल्ला सदरमुकाममा हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।
कोरोना महामारीका कारण बिगत २ वर्षदेखी प्रतियोगिता रोकिएको थियो । प्रतियोगिता २१ गतेसम्म चल्ने समितिले जानकारी दिएको छ ।
वर्खा लागे संगै आयोजना हुन लागेको प्रतियोगिता गर्न कठिन भएतापनि जिल्लाको खेलकुद बिकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले भाग लिनेछन् ।
सहभागिताका लागि सबै स्थानीय तहमा जानकारी गराइसकिएको पनि समितिले जनाएको छ । प्रतियोगितामा कवड्डी, भलिबल, टेबल टेनिस, एथ्लेटिक्सका विभिन्न बिद्याहरु, मार्सल आट्र्स तर्फ कराते र ताइकान्दु लगायतका विद्यामा प्रतियोगिता गराइने भएको छ ।
प्रदेश स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता असार २३ र २४ गते पोखरामा हुने भएका कारण पनि जिल्लामा बिना तयारी प्रतियोगिता आयोजना गरिएको हो ।
सातौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सिरानचोक गाउँपालिकाले जितेको थियो ।



