गोरखा । गोरखा नगरपालिकाले नगरबासीहरुका लागि घर निर्माण गर्दा अबदेखी नक्सा नगरपालिका आफैले बनाइदिने घोषणा गरेको छ । नगरपालिकाका प्रमुख कृष्ण रानामगरले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरबासीको घर निर्माण गर्दा निःशुल्क नक्सा बनाइदिने घोषणा गरेको हो ।
नगरपालिकाले नीति तथा कार्यक्रममा गोरखा बजारको सुन्दरतालाई बढाउन बजार क्षेत्रलाई सुरक्षित, व्यवस्थित गर्न ठूला सवारीहरु बजार भन्दा बाहिरबाट आउने जाने व्यवस्था मिलाउने नीति लिएको छ । जस अनुसार सदरमुकाम संगै रहेको डण्डी डाँडामा बन्दै गरेको नयाँ बसपार्क व्यवस्थित गर्ने, ठिँगुरेस्वाँरा खोलखोलेका साइडहरु, सतिपिपल र रानीस्वाँरा तथा आहाले भन्ज्याङ साइडमा बसपार्क निर्माण गर्ने योजना बनाको छ ।
नगरप्रमुख कृण्ण रानामगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १ वडा १ स्तरीय सडक, १ वडा १ गौरवको आयोजना पनि सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै गरी जनतासंग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, १ वडा १ खेलमैदान निर्माण, गाई बस्तुका लागि सुत्केरी स्याँहार अनुदान सहयोग गर्ने लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगरपालिका भित्रका फोहोर व्यवस्थापनका लागि ‘मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने अबधारणा बिकास गराउने खालका कार्यक्रम सञ्चालन गर्ने, वडा नम्बर ८ मा रहेको डम्पिङ साईडलाई सरसफाई केन्द्रको रुपमा बिकास गर्ने र नगरपालिका भित्रका फोहोर मैला व्यवस्थापनलाई थ्रि आर बिधिमा व्यवस्थापन गरिने भएको छ ।
नगरको सुन्दरता र रमणीयतालाई ध्यान दिदै पालिका भित्र कृत्रिम पोखरीहरु निर्माण गरी पानीको स्रोत बढाउने नीति नगरपालिकाले लिएको छ ।
शिक्षामा नगरपालिकाले १० बर्षे शैक्षिक गुरु योजना निर्माण निर्माण गर्ने, १ बिधालय १ स्काउट शिक्षक उत्पादनमा जोडदिने, शिक्षण सिकाईलाई प्रभाकारी बनाउन नियमित अनुगमन गर्ने तथा बिधालयहरुलाई प्रबिधिमैत्री बनाउन प्राबिधिक ज्ञान सिपको बिकास गराउने खालका कार्यक्रम सञ्चालनमा ल्याउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।


