काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखामा आफ्नो पार्टीलाई अबमूल्यन र अपमानित गरेको परिणाम अरु दललाई देखाईदिएको बताए । हालै सम्पन्न वैशाख ३० को स्थानीय तह चुनावमा ११ मध्ये ९ स्थानिय तहमा माओवादीले जितेको प्रसंग उल्लेख गर्दै जिल्ला चुनावी तालमेल गर्न खोज्दा अन्य दलले आफुहरुलाई अबमूल्यन र अपमान गरेको स्मरण गराएका हुन् ।
बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ०७४ मा हारेका पालिकामा यसपालि माओवादीले जितेको पनि बताउदै सत्ता गठबन्धनबीच गोरखामा चुनावी गठबन्धन गर्न खोज्दा माओवादीलाई सम्मानजनक सिट नदिइएको र एक्लै उठ्न आफूले दिएको निर्देशनअनुसार पार्टीका उम्मेदवारहरू जितेको अध्यक्ष दाहालले कार्यकतालाई भनेका थिए ।
‘यो पटक गोरखाले नयाँ उदाहरण प्रस्तुत गर्यो । त्यहाँ गठबन्धन गर्न निकै कसरत भयो । तर गठबन्धन गर्दा हामी माओवादीलाई अलि बढी नै अबमूल्ययन गर्ने र धेरै नै अपमानित गर्ने देखेपछि मैले त्यहाँका कमरेडहरूलाई भने-अलि दह्रो आत्मविश्वासका साथ एक्लै चुनाव लड्न जानुभयो भने बढी जितिन्छ । अन्ततः ११ मा ९ स्थानीय तह माओवादीले जित्यो,’ उनले भने ।
कार्यकताहरुलाई संबोधन गदै अध्यक्ष दाहालले गोरखामा जिल्ला समन्वय समिति पनि माओवादीले एकलौटी जितेको जानकारी गराएका थिए ।




















